दशैंमा उपत्यका छाड्नेको संख्या बढ्दै, तीन दिनमा बाहिरिए दुई लाख

0

काठमाडौं– नेपालीको महान चाड दशैं मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौं छाडेका छन्।

सामान्यतया उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या र यात्रु सिट क्षमताका आधारमा यो संख्या अनुमान गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिलगायत विभिन्न नाकाबाट करिब २५ हजार सवारीसाधन बाहिरिएको ट्राफिकको तथ्यांक छ।

सोही अवधिमा विभिन्न नाकाबाट एक लाख व्यक्ति भित्रिएका छन्। त्यस्तै, २० हजार सवारीसाधन उपत्यका प्रवेश गरेको वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताए। उनका अनुसार भित्रिनेभन्दा बाहिरिनेको संख्या दोब्बर छ। सवारीसाधनको संख्या पनि भित्रिनेभन्दा बाहिरिने बढी छन्। असोज २१ गते घटस्थापनाको दिन ४५ हजार ३६२, २२ गते ५१ हजार ९४० र शनिबार ६० हजार २१२ जना बाहिरिएका छन्।

त्यस्तै, साना ठूला गरी करिब २५ हजार सवारीसाधन बाहिरिएका छन्। महाशाखाका अनुसार विभिन्न नाकाबाट दैनिक २०/२५ हजार सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्।

बस, मिनीबस माइक्रोबसलगायत सार्वजनिक यातायातका अतिरिक्त निजी सवारीसाधन र ट्रक चढेरसमेत घर फर्किने यात्रुको बाक्लो चाप देखिएको छ। बसमा सिट नपाएकाले ट्रक र ट्रिपरमा जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो यात्रुको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here