१. कोरोना भाइरस (कोभिड १९)को कहर बढेसँगै गरिएको लकडाउनले तत्काल ख्रीष्टियन मिडियाको क्षेत्रमा केकस्तो प्रभाव प-यो ?
–यो महामारीले सबै क्षेत्रमा प्रभाव पारेको थियो, ख्रीष्टियान मिडियाकर्मीहरूलाई पनि नराम्रोसँग नै प्रभाव पारेको थियो । हालसम्म पनि यसको प्रभाव रहेको छ । विशेष गरेर पूर्णकालीन यसै क्षेत्रमा भर परेका संचारकर्मीलाई सबैभन्दा वढी मारमा परे । प्रिन्ट मिडियालाई त ठप्प नै पारियो भने न्यूज पोर्टलबाहेक सामाजिक संजालमा भने संचारकर्मी चहलपहल बाक्लो देखियो । धेरै सोसल मिडिया प्रयोग नगर्ने मण्डलीहरूले यसलाई अत्याधिक प्रयोग गरे, जुन सकारात्मक प्रभाव हो । संचारकर्मीले मिडियाको साथै सामाजिक कार्यहरू पनि व्यापक कार्य गर्नुभयो ।
२. महामारीको त्राससँगै ख्रीष्टियन मिडिया क्षेत्रमा अन्य समस्या र चुनौतीहरु के के थिए ? तीनको उचित सम्बोधनका लागि तपाईले के गर्नुभयो ?
–समस्या थियो । मचाहिँ समस्याभन्दा पनि चुनौति भनेको रुचाउँछु । कति मिडियाकर्मीहरूले आफ्नो दुःख देखाउन सकिरहेका थिएनन्, बरु अरूको दुःख देखाएर सहयोग जुटाइदिएका थिए । मिडियाकर्मीलाई सबैले यस्तो सहायता नगरेका देखेर प्रभुको अनुग्रहले मैले केही गर्ने मौका पाएँ ।
विभिन्न देशभित्र र देशबाहिरका आदरणीय मित्रहरूले सहायता पठाउनुभयो । सबै अभावमा थिए, अभावमा रहेका संचारकर्मीलाई रासन सेट उपलब्ध गराएका थिए । साथै केही नगद रकम पनि हामीले उपलब्ध गराउने मौका पायौं । यो उहाँको लागि उचित सम्बोधन त होइन तर पनि सकेको सहायताचाहिँ पक्कै हो । मलगायत अरू मेरा मित्रहरूले पनि सहायता र सहयोग गर्नुभएको थियो । यी सबैबाट परमेश्वरको महिमा भएको होस् ।
३. कोरोनाको कहर विस्तारै घटेको महशुस भैरहेको छ, मिडिया संचालनका लागि तत्काल र दिर्घकालीन रुपमा केके गर्ने रणनिित तयार पारेको छ ?
–यो प्रश्न धेरै असल छ । तत्कालीन र दीर्घकालीन रणनीति बनाएको अवस्था छैन । ख्र्रीष्टियान मिडिया र मिडियाकर्मी सधैं नै चुनौतिको रेखामा रहेका छन् । एक्लै गर्न पनि सकिँदैन, सबै जना मिलेर कार्य गर्ने समय आएको छ । मिडियाकर्मी संगठित हुनु आवश्यकता हो, जसले यस्ता रणनीति बनाउन सक्दछ । संगठित नहुनुको अर्को विकल्प छैन ।
संगठित भएर जानुपर्ने अवस्था देखिएको छ । यसले गर्दा मिडियाकर्मी र मण्डली दुवैलाई फाइदा हुन्छ । सबैभन्दा महान् आज्ञा पूरा गर्न सजिलो बाटो पनि मिडिया नै हो । सबै जना बसेर अब रणनीति बनाउने बेला यही नै हो । यो गर्नु नै पर्दछ ।
४. ख्रीष्टियन मिडियाको क्षेत्रमा कोरोनाले ल्याएका खास चुनौतिहरु के के हुन् ? तीनको दिगो समाधानका लागि मण्डलीले के गर्नुपर्छ ?
–हरेक क्षेत्रमा चुनौति छ, ख्रीष्टियान मिडियाभित्र पनि चुनौतिको पहाड छ । आर्थिक, सामाग्री, दक्ष जनशक्ति, लगानीकर्ता आदिको अभाव छन् । आर्थिक अवस्थाको कारणले सम्भावना देखेको कति प्रतिभावान् व्यक्तिहरू यस क्षेत्रबाट पलायन भएका छन् । उहाँको दक्षतालाई प्रयोगमा ल्याएको भए ख्रीष्टियान क्षेत्रमा ठूलो परिवर्तन हुन्थ्यो । अब जति छन्, उहाँहरूलाई चुनौतिको बावजुत पनि प्रयोगमा ल्याउनु पर्दछ । स्थानीय सक्षम मण्डलीहरूले नेपाली ख्रीष्टियान मिडियालाई विज्ञापन सहायता तथा अन्य सहायता गर्नुपर्दछ ।
नेपाली मण्डलीको सेरोफेरोमा ख्रीष्टियान मिडिया कार्यक्षेत्र भएकोले मण्डलीहरूको अहम् हात रहेको छ । ठूला मण्डलीहरूले विज्ञापन दिनुपर्दछ । साथसाथै मण्डलीभित्र रहेका व्यापार गर्ने व्यक्तित्वले पनि विज्ञापन दिएर सहायता गर्न सक्नुहुन्छ । सबै मिलेर नेपाली ख्रीष्टियान मिडियालाई उठाऔं, प्रभुको राज्य फैलाऔं ।