एडोन रोंगोंग जीवनका विविध आयामहरू बजारमा

0

२९ असोज २०७६, ललितपुर । नेपाली मण्डली इतिहासका एक ऐतिहासिक व्यक्तित्व सफल साहित्यकार रेभ. डा. एडोन रोंगोंगको जीवनमा आधारित पुस्तक “एडोन रोंगोंग जीवनका विविध आयामहरू” नामक पुस्तक एक समारोहकाबिच ललितपुरको सानेपास्थित आराधना चर्चमा विमोचन गरिएको छ ।

कमल विएनद्वारा लिखित नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका पूर्व राष्ट्रिय निर्देशक तथा एन.सी.एफ. नेपालका पूर्व अध्यक्ष समेत रहेका साहित्यकार रेभ. डा. रोंगोंगको जीवनमा आधारित पुस्तकलाई वल्र्ड इसान्जेलिकल एलायन्स (WEA) का महासचिव विशप इफ्राइम टेन्डेरोले विमोचन गर्नु भएको हो । विमोचन समारोहमा एन.सी.एफ नेपालका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङले रेभ. डा. रोंगोंगले ६० वर्षसम्म नेपालमा रहेर सेवकाईका विविध क्षेत्रमा पु-याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा एन.सी.एफ. नेपालका महासचिव तथा साहित्यकार पा. शेर वहादुर ए.सी.ले पुस्तकको समिक्षा गर्नुका साथै साहित्यकार रोंगोंगका बारेमा लिखित कविता समेत वाचन गर्नु भएको थियो ।
विमोचन समारोहमा पुस्तकका लेखक बिएनले पुस्तक लेख्दाका आफ्नो अनुभव तथा भोगाईहरू समेत बाड्नु भएको थियो । कार्यक्रमको समापन अघि साहित्यकार रोंगोंगले आफ्नो सेवकाईका क्रममा भोगेका कठिन भोगाईहरू र अनुभुवहरू बाडँनुका साथै आफु मरेर गए पनि यो पुस्तक जीवन्त रहनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।
नेपालमा लामो समयसम्म सेवकाई गर्नुभएका साहित्यकार रोंगोंग हाल उहाँ भारतको सिलगुडीमा आफ्नी श्रीमतीका साथमा बस्दै आउनु भएको छ । भारतमा रही सामाजिक र सेवकाईका क्षेत्रमा निरन्तर क्रियाशिल रहेका उनी हाल साहित्यलेखनमा अनवरत रुपमा लागि राख्नुभएका साथै विभावना पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुनुहुन्छ ।
कार्यक्रममा क्वाइनोनिया मण्डलीका एल्डर तथा एकता बुक्स प्रा.लि.का कार्यकारी प्रमुख रामचन्द्र तिमोथीले सहभागी सबैलाई धन्यवाद दिँदै साहित्यकार रोंगोंगका बारेमा पुस्तक प्रकाशन गर्नु एकता बुक्सको लागि ठूलो अवसर भएको कुरा बताउनु भएको थियो । विमोचित पुस्तकलाई एकता बुक्स प्रा. लि. ले प्रकाशन गरी बजारमा ल्याएको हो उक्त पुस्तकको बजार मुल्य ६५० मात्र रहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here