कास्की पोखरास्थित प्रशस्त कट्नी चर्चका पास्टर केशव आचार्य डोल्पा जिल्ला अदालतबाट रिहा हुनुभएको छ । धर्म सम्बन्धी कसुरमा जिल्ला अदालत डोल्पाले ३ लाख धरौटीमा पास्टर आचार्यलाई आज रिहा गरेको हो ।
निकट स्रोतका अनुसार पास्टर आचार्य जिल्ला अदालत डोल्पाको सदरमुकाम दुनाईबाट रिहा भएसँगै घर फर्कन लागिएको जानकारी प्राप्त भएको छ । नेपाल ख्रीष्टियन समाजको सक्रिय पहलमा आज ३ लाख धरौटी रकम पठाएसँगै आचार्य थुनामुक्त भएका हुन । समाजका केन्द्रिय सचिव पास्टर मुकुन्द शर्माले पास्टर आचार्य पक्राउ पछि मुद्धामा पोखराको ५ लाख धरौटी रकम र हालसम्म लाग्ने धरौटी खर्च सबै समाजले नै व्यहोरेको दाबि गरेका छन् । उनले सबै कार्य समाजको नेतृत्व र पहलमा नै भएकोले कुनै पक्षले सबै मैले गरेको हो भन्नु एक देखावटी नाटक मात्र भएको बताएका छन् ।
समाजका महासचिव तथा प्रवक्ता पास्टर डिल्लीराम पौडेलले पास्टर आचार्यको रिहाइका लागि प्रार्थना गर्नुहुने सबै नेपाली मण्डली समुदाय र देश विदेशमा रहेका सबै नेपाली भाषा भाषी मण्डलीलाई धन्यवाद दिनुहुँदै अहिले मुद्धाको किनारा नलागिसकेकोले अवस्थामा हाल अदालतिय काम कारवाहीलाई कुनै असर नपर्ने गरी सहयोग र समन्वय गरिदिनुहुन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्नुभएको छ ।