श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न श्रम विभागको निर्देशन

0

६ साउन, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदन १ घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ ।

विभागले आफ्ना मातहतका निकायलाई परिपत्र गर्दै पीडितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको हो ।

श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिइएको हो । विगतमा विभिन्न माध्यम (हेल्लो सरकार, मन्त्रालय वा विभाग) बाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।

श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने छ । त्यस्तै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने, यदि कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा समेत पठाउनुपर्नेछ।

श्रमिकका उजुरीमाथि प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने, श्रम कानुन अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने, श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णयहरू समयमै कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू समेटेर निर्देशन दिइएको छ ।

हेल्लो सरकारबाट प्राप्त गुनासोहरू सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउन समेत विभागले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here