पर्वत : टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो संस्करणमा बिजेता बनेको ‘डिफेन्डिङ च्याम्पियन’ शसस्त्र प्रहरी बलको एपिएफ क्लबले चौथो संस्करणमा पनि विजयी सुरुवात गरेको छ।
‘टाइगर ग्रुप अफ पोखरा नेपाल’ को आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकालेको हो।
चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै दुई अङ्क हासिल गरेको छ भने नेपाल पुलिस क्लबले एक अङ्क प्राप्त गरेको छ।
पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेस्रो र चौथो सेट भने गुमाउन पुग्यो। तेस्रो र चौथो सेटमा टिम ‘कम्विनेसन’ को अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो।
सम्पन्न पहिलो खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी ‘टाइगर अफ दि म्याच’ घोषित भएकी छिन्।
नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा पहिलोपटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ।
महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन बिभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुबन क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता छ।
त्यसैगरी, पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ। प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब तीनजना पाकिस्तानी खेलाडीसहित मैदानमा उत्रिने छ। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघसमेत तीन भारतीय खेलाडी सहित मैदानमा छ। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब गरी तीन वटा विभागीय क्लबले पनि प्रतियोगितामा सहभागिता जनाएका छन्।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान दुई लाख ५५ हजार पाँच सय ५५ तथा तेस्रो हुने टिमले एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन्। उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५÷२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ।