२५ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओसँग भेटवार्ता गरेका छन् ।
सोमबार बेइजिङमा भएको भेटमा सन् १८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको स्मरण गरे ।
त्यही कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको भन्दै उनले भनेका छन्, ‘हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं ।’ नेपाल एक चीनको पक्षमा दृढ रहेको र नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्ने उनले बताए ।
एमाले महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा गरेको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता छिटो कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।
महासचिव पोखरेलले २०८४ सालको आमनिर्वाचनमा बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गर्ने लक्ष्यका साथ आफ्नो दल एमाले क्रियाशिल रहेको समेत बताए ।
भ्रमण दलका सदस्य राजेश राईका अनुसार विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा धन्यवाद दिए । दुई पार्टीको सम्बन्ध सुमधुर रहेको र यसलाई नयाँ उचाइमा लैजान चाहेको समेत उनले बताए ।
चीन र नेपालबीच घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको भन्दै उनले भनेका छन्, ‘राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ ।’
राष्ट्रपति सीको नेपाल भ्रमण तथा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला भएका सहमति कार्यान्वयन होस् भन्नेमा आफूहरु पनि दृढ रहेको बताए । उनले भनेका छन्, सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ ।’