काठमाडौं । नेपाली कमेडियन प्रनेश गौतमले यसवर्षको अस्ट्रेलियन आइडलमा अडिसन प्रस्तुति दिएका छन् । एक अंग्रेजी गीत गाउँदै उनले दिएको प्रस्तुतिलाई लिएर यतिबेला सामाजिक संजालमा चर्चा भैरहेको छ ।
‘म गाउन जाँदैछु ‘आइ विल सर्भाइभ’ जजसँग उनले भनेका छन् । त्यसपछि एक जज भन्छिन्- लेट्स डु इट बेबी ।’ अनि प्रनेश गाउँछन्- यू थिंक आइ ले डाउन एन्ड डाइ, नो नट । आइ विल सर्भाइभ ओ एज लङ एज आइ नो, हाउ टु लभ…..।’
त्यसपछि ती जज भन्छिन्- अरु थप ? उनको प्रस्तुति हास्य शैलीले प्रेरित देखिएको छ । प्रनेशको प्रस्तुतिमा अर्का जज भन्छन्- यो मैले अहिलेसम्म सुनेको उत्कृष्ट संस्करण अवश्य होइन । मैले अहिलेसम्म सुनेको सबैभन्दा खराब भर्सन भने अवश्य हो ।’
प्रस्तुतिमा प्रनेशको आत्मविश्वास भने देखिएको छ । सामाजिक संजालमा उनको प्रस्तुति र आत्मविश्वासको प्रशंसा भएको छ ।
फेब्रुअरी २ देखि अस्ट्रेलियन आइडलको तेस्रो संस्करणको प्रसारण च्यानल सेभेनमा सुरु भएको छ । मार्सिया हाइन्स, एमी शार्क र काइल स्यान्डिल्यान्ड नयाँ सिजनमा पनि निर्णायकको रुपमा छन् ।