सुसमाचारको आगमनसँगै मान्छेले मान्छेको मासु खाने पुरानो अभ्यासमा पूर्ण विराम

0
46

-कमल अधिकारी
प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देशको नाउँ हो, फिजी । एक जना कलेजका प्राध्यापक त्यहाँ पुगे, जो धार्मिक दृष्टिकोणबाट अज्ञेयवादी थिए । परमेश्वर अस्तित्वमा हुनुहुन्छ या हुनुहुन्न भनी थाहा छैन भनी विश्वास गर्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ । ती अज्ञेयवादी प्राध्यापकले त्यहाँका मुखियालाई भने, “तपाईं महान् अगुवा हुनुहुन्छ । तर मिसनरीहरूले तपाईंलाई पङ्गु बनाएकोमा मलाई दुःख लागेको छ । तपाईंलाई प्रयोग गरेर तिनीहरू केवल धनी हुन चाहन्छन् ।

अब बाइबललाई कसैले विश्वास गर्दैन । ख्रीष्ट येशू मानव–जातिको पापको लागि क्रुसमा मर्नुभयो भन्ने थोत्रो कथा सुनेर मानिसहरू वाक्क भइसकेका छन् । तिनीहरूका कथालाई स्वीकार गरेर तपाईं पटमूर्ख हुनुभएकोमा मलाई दुःख लगेको छ ।”
ती पाका मुखियाले जवाफ दिए, “त्यो ठुलो चट्टानलाई तपाईं देख्नुहुन्छ ? त्यहाँ हामीले हाम्रा मानिसका शिरहरूलाई धुजाधुजा बनाउँथ्यौँ । त्यहाँ नजिकै भएको आगोको भट्टीलाई देख्नुहुन्छ ? त्यहाँ हामीले हाम्रा शत्रुका शरीरहरूलाई जलाउँथ्यौँ । यदि ती मिसनरीहरूले बताएका येशूको प्रेमद्वारा हामी मान्छेको मासु खाने जातिबाट ख्रीष्टियानमा परिवर्तन नभएका भए तपाईं यहाँबाट कहिल्यै जिउँदै फर्केर जान सक्नुहुन्नथ्यो । हाम्रा मानिसहरूले तपाईंलाई खाइदिन्थे । त्यसैले सुसमाचारको लागि प्रभुप्रति धन्यवादी हुनुहोस् । बाइबलको कारणले गर्दा हामी नबद्लिएको भए तपाईं हाम्रो खाना बन्नुहुन्थ्यो ।”

मान्छेले मान्छेलाई काटेर खाने अभ्यासलाई नरभक्षण भनिन्छ भने यसलाई अभ्यास गर्ने व्यक्तिलाई नरभक्षी भनिन्छ । हजारौँ वर्ष पुरानो यस अमानवीय अभ्यास संसारको विभिन्न भूभागमा विद्यमान थियो । ग्रिनल्यान्डपछि संसारको दोस्रो ठुलो टापु न्यु गिनीसाथै अस्ट्रेलियाको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित पश्चिमी प्रशान्त महासागरीय क्षेत्रमा पर्ने सोलोमन टापुका भागहरूमा यस्तो अभ्यास कायम थियो । फिजीलाई त एक पटक ‘नरभक्षीको टापु’ भनेर नै चिनिन्थ्यो । फिजीदेखि अम्याज्न बेसिन हुँदै कङ्गो अनि न्युजिल्यान्डको माउरी जातिको बिचमा नरभक्षणलाई व्यापक रूपमा अभ्यास गरिन्थ्यो । प्राचीन मिश्रसाथै रोममा पनि यसको अभ्यास गरिएको थियो भन्ने साक्षी पाइन्छ । संस्कृतिको नाउँमा पपुवा न्युगिनीमा ख्रीष्टाब्द २०१२ सम्म पनि यसको अभ्यास गरिएको थियो ।
भारतीयहरूका बिचमा नरबलि (अर्थात् मानव बलि) को अभ्यास व्याप्त भए पनि मानिसको मासु खाने अभ्यास भने विरलै पाइन्थ्यो । एउटा संस्कारमा मानिसलाई मारी देवी कालीलाई चढाइयो अनि फोक्सोहरू योगीले खाएका थिए भने स्थानीय राज परिवारले उक्त मानिसको रगत मिसाइएको भात खाएको थियो । यही विधिको निम्ति मानिसहरूलाई अपहरण गरेकाले एक राजाको इलाकालाई ख्रीष्टाब्द १८३२ मा ब्रिटिसले कब्जा गरेको थियो ।

“तैँले मान्छेको मासु नखा” भनेर बाइबलमा प्रस्टसित नलेखिएको भए पनि नरभक्षण एउटा डरलाग्दो दुष्ट्याइँ हो भन्ने कुरा बाइबल धर्मशास्त्रबाट प्रस्ट छ । जलप्रलयपश्चात् परमेश्वरले नोआलाई अन्य प्राणीको मासु खाने अनुमति दिनुभए (उत्पत्ति ९ः३) पनि मानव हत्याको विषयमा उहाँले कडा चेताउनी दिनुभयो, “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो” (उत्पत्ति ९ः६) ।
बाइबलमा कति पटक मान्छेको मासु खाने विषयमा बताइएको छ (जस्तैः लेवी २६ः२९; यर्मिया १९ः९), तर यस्तो अभ्यासलाई डरलाग्दो श्रापसाथै अमानवीय गतिविधिको रूपमा चित्रण गरिएको छ । आत्मिक अधोगतिको नतिजा स्वरूप देखा परेको शारीरिक त्रास थियो, नरभक्षण ।

मान्छेले मान्छेको मासु खाने सदिऔँ पुरानो अमानवीय चलनमा कसरी पूर्णविराम लाग्यो त ? यसको श्रेय जान्छ, येशूको सुसमाचारलाई । ख्रीष्टियान शिक्षाको प्रभावमा यो अभ्यास रोकिएको थियो । ख्रिस्टियमतको आगमनअगि नरभक्षणको अभ्यास व्याप्त थियो । तर सुसमाचारको प्रवेशसँगै मानिसहरूले मानवीय जीवनलाई नयाँ दृष्टिकोणले हेर्न सके । फलस्वरूप नरभक्षणको अन्त्य भयो ।
मानव–जाति परमेश्वरको आफ्नै स्वरूपमा सृष्टि गरिएकोले (उत्पत्ति १ः२६–२७) प्राणी जगत्मा ऊ अद्वितीय र पृथक् छ । अन्य कुनै पनि प्राणीभन्दा उसको मूल्य उच्च छ । तसर्थ मान्छेलाई मारेर खाने अभ्यास पूर्णतः गलत मात्रै छैन, तर औधी निन्दनीय पनि छ ।

सन्दर्भ स्रोतहरूः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here