ख्रीष्टियान प्रकाशक, सम्पादक, पत्रकारहरू बारे ?

0
114

-भुवन देवकोटा
सन्चारलाई प्रविधिले अंकमाल गरेपछि हाल संसार सानो गाउँजस्तै बनेको छ । संसारको एक कुनाबाट अर्को कुना खबर लान महिनौं लाग्ने कुरा दन्तेकथाजस्तै बनेको छ । प्रकाशनको तरिका पनि मौखिकबाट, छापा हुँदै अहिले अनलाइनसम्म आइ पुगेको छ र भर्चुअल संसारको गतिसिलता अझै आकासिँदो छ । त्यसै प्रसंगमा अहिले प्रकाशनको नाममा विभिन्न कुराहरू प्रकाशन गर्ने, छाप्ने कुराको प्रतिस्पर्धा चलेको छ । छापा, श्रव्यदृश्य, अनलाइनको माध्यमबाट पाठकहरूलाई आवश्यक–अनावश्यक खुराकहरू पस्कने कुराको होडबाजी हाम्रो बीचमा प्रशस्तै चलेको छ । भाइरल बन्ने, हिट काउन्ट बढाउने, सब्सक्राइबर सङ्ख्या बढाउने अथवा लाइक सङ्ख्या बढाउने नाउँमा हुनुपर्ने र नहुने प्रशस्तै कुराहरू अनलाइनमा आउँदैछ । यस्ता गलत संस्कारको विरुद्धमा ख्रीष्टियान पत्रकारहरूले जहिले पनि प्रकाशन गर्ने सामाग्रीलाई मूल्याङ्कन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

प्रकाशनै गर्नलाई त बजारमा अनलाइनमा मानिसहरूसँग प्रशस्तै सामाग्री छ । मैले केही समयअगाडि पाठकवर्गलाई अवगत गराएको थिएँ कि ख्रीष्टियान संचारमाध्यमले सबैभन्दा मुख्य मण्डलीको पक्षमा काम गर्नुपर्छ । नेपाली मण्डलीको वृद्धि कसरी गर्न सकिन्छ, नेपाली ख्रीष्टियान साहित्यलाई कसरी योगदान दिन सकिन्छ, ख्रीष्टियान भाषा, कला, साहित्यलाई कसरी उठान गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिई त्यतापट्टि मन लगाएर त्यो अनुसारका सामाग्रीहरू पाठकहरूलाई पस्कनुपर्छ । त्यति मात्रै होइन, कसरी मानिसहरूलाई प्रभुको वचनमा हुर्काउने, मानिसहरूको गवाहीद्वारा उत्साही गराउने र येशूको आगमनमा उहाँको दुलही मण्डलीलाई तयार गर्ने काममा लाग्नुपर्छ । अनि सँगसँगै मण्डलीले के भन्न चाहेको छ, मण्डलीको सुसमाचार, मण्डलीका असल कुराहरू जनमानसमा पु-याउने, मण्डलीका शिक्षाहरू मानिसहरूलाई दिने हाम्रो जिम्मेवारी हो । हुन सक्छ, ती मानिसहरूले सामान्य नैतिक शिक्षाको रूपमा मात्रै लिन्छन् । नैतिक शिक्षाले मानिसहरूको उद्धार गर्दैन । र पनि, त्यो शिक्षाले मानिसहरूलाई सुसमाचारको ढोका खोल्न सक्छ ।

ख्रीष्टियान संचारकर्मी सबैभन्दा पहिले येशूको अनुयायी हो । सबैभन्दा पहिले ऊ पनि पश्चात्ताप गरेपछि सुसमाचारमा विश्वास गरेर बचाइएको व्यक्ति हो । यदि कसैले येशूलाई जीवनमा अपनाएर येशूको पछि लाग्न सिकेको छैन भने त्यो व्यक्तिले आफूलाई ख्रीष्टियान भन्न मिल्दैन । अनि त्यसैले ख्रीष्टियान संचारकर्मी भन्दैमा ऊ बाइबलभन्दा माथि हुँदैन अनि मण्डलीभन्दा पनि माथि हुँदैन । किनभने मण्डली येशू प्रभुले सुरु गर्नुभएको हो र येशू त्यही मण्डलीलाई लिन आउँदै हुनुहुन्छ । सन्चारमाध्यमको काम गर्दा यो कुरालाई निरन्तर हृदयंगम गरिरहनुपर्छ ।
मैले अघि नै चर्चा गरें, ख्रीष्टियान संचारकर्मीले मण्डलीको लागि र मण्डलीको पक्षबाट वकालत गर्ने काम गर्छ । अहिले हाम्रा अगाडि पस्किएका विभिन्न सामाग्रीहरू बग्रेल्ती देखिन्छन् । देश–विदेशमा रहेका हाम्रा प्रियहरूले ती कुराहरू हेरेर, सुनेर, पढेर आशिष् पाइरहनुभएको छ । यो सँगसँगै ठीक–बेठीक छुट्याउने प्रयास नगर्दा गलत कुराहरू हाम्रा बीचमा आइरहेका छन् । हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले गलत कुराहरू हेरेर, सुनेर, पढेर गलत धारणाको विकास गरिरहेका छन् । हाम्रा बिचमा उम्रिएका झुटा शिक्षकहरूले आर्थिक र मनोवैज्ञानिक फाइदाको लागि पनि सन्चारलाई प्रयोग गर्न थालेका छन् । ख्रीष्टियन सन्चारमाध्यमले जानेर, नजानेर, पैसा वा विज्ञापनको लागि त्यस्तालाई प्रश्रय दिँदा कालान्तरमा चर्चलाई वेफाइदा गर्छ ।

येशूले एक पल्ट भन्नुभयो, मलाई विश्वास गर्ने सानाहरूमध्ये कसैलाई पाप गर्न लगाउँछ भने त्यसको घाँटीमा जाँतो बाँधेर समुद्रको पीँधमा डुबाइदिनु असल हुन्छ । अनि हामी संचारकर्मीहरूले पस्केका कुराले कोही मानिसलाई गलत र कुमार्गमा डो-याउँछ भने त्यो वचन हाम्रो लागि पनि हो । विज्ञापनको नाउँमा वा हिट काउन्ट बढाउने नाउँमा नेपालको मण्डलीलाई माया नगर्ने झुटा शिक्षकहरूलाई जबरजस्ती उचाल्दा त्यसले अन्ततः मण्डलीको भलाइ गर्दैन । त्यो छाप्ने व्यक्तिले केही लाभ अथवा स्याबासी पाउन सक्ला तर मान्छेको स्याबासी पाउने कि येशूको स्याबासी पाउने ? यो प्रश्न संचारकर्मीहरूले आफैंलाई गर्नुपर्छ ।

दोस्रो प्रश्नः हामीले पस्कने सामाग्रीको वैधानिकता अथवा हामीले पस्कने सामाग्रीहरू कतिसम्म तथ्यपरक छन्, सत्यपरक छन्, ठीक छन् भनेर जाँच्ने बेला पनि आएको छ । राजधानीमा मात्रै बसेर कसैको विषयमा लेख्दा त्यो व्यक्तिको वास्तविक वस्तुस्थिति थाहा नहुन सक्छ ।
म आफ्नै उदाहरण दिन उपयुक्त ठान्छु । केही वर्षअघि मैले सक्रिय अनुवादको काम गर्दा अनुवाद गर्नुपर्ने एउटा सामाग्री मेरो हातमा आइपुग्यो । नेपाली लेखकहरूले अङ्ग्रेजीमा लेखेको एउटा ठूलो पाठ्यक्रमको लागि तयार पारेको त्यो अनुवादमा मैले आपत्ति जनाएँ । त्यहाँ लेखिएको थियो कि सर्लाही जिल्लाको कुनै ठाउँमा ख्रीष्टियान रेडियो स्टेसन स्थापना गरिएको छ । त्यहाँ दिइएका धेरै तथ्यांकहरू झुटो हो भन्ने मलाई थाहा छ । मैले सुनेअनुसार कतिपय बाइबल स्कुलमा त्यो पुस्तक नै अध्यापन गरिन्छ । सर्लाही जिल्लाभरि ख्रीष्टियान रेडियो स्टेसन छैन भनेर बताउँदा मलाई काम दिने व्यक्तिले मैले विश्वास गरेको व्यक्ति हो भनेर भन्नुभयो । मेरो कुरा पत्याउनुभएन । हामी ख्रीष्टियान सम्पादकहरूले त्यसलाई फिल्टर नगर्दा जनमानसले गलत कुरा सिकिरहेका छन् । गलत कुरा थाहा पाएर गलत किसिमको प्रार्थना, नभएको कुरालाई धन्यवाद दिने काम पनि भएको छ ।

अर्काे मुख्य कुरा, कोही व्यक्तिले तपाईंको भावनालाई मन पर्ने कुरा बोल्यो भन्दैमा तपाईंलाई, तपाईंको पेजलाई, तपाईंको पत्रिकालाई स्पोन्सर ग-यो भन्दैमा त्यसलाई येशूतुल्य बनाएर प्रचार गर्नु मण्डलीको भलाइको निम्ति पनि होइन र परमेश्वरको महिमाको लागि पनि होइन । कोही व्यक्तिले बोलेको कुरा ठीक छ कि छैन भनेर कम्तीमा सामान्य विश्वासीको चस्माबाट, बाइबल पढेर, बाइबलअनुसार जाँचेर मात्रै प्रकाशन गर्नुचाहिँ मण्डलीको भलाइको निम्ति असल हुन्छ । तपाईंले जाँच्ने बानी गर्नुभएको छैन भने तपाईंले पस्कनुभएको सामाग्रीले कोही भाइ वा बहिनीले गलत विश्वास लिएर वा गलत कुरा समाएर गलातीको पुस्तकअनुसार झुटो येशूलाई विश्वास गर्छ । उदाहरणको लागि सम्पन्नताको सुसमाचार प्रचार गर्ने नेपालीहरू प्रशस्तै देखिएका छन् । अनि तपाईंले तिनीहरूलाई उचाल्ने काम गर्नुभयो भने मानिसहरूले गलातीको पुस्तकमा लेखिएको झुटो येशूलाई विश्वास गर्दछन् । बाइबलको सत्य परमेश्वरमाथि विश्वास गर्दैनन् । अनि त्यसको जवाफ तपाईं संचारकर्मीले परमेश्वरको अगाडि निश्चय नै दिनुपर्छ । हामी कोही पनि परमेश्वरको न्यायबाट उम्कन सक्दैनौं । त्यसबाट प्रभुको महिमा भएको छ कि छैन, मण्डलीको भलाइ भएको छ कि छैन, त्यो कुरा हामीले विचार नगर्दा हामीले पनि न्यायको आसनअगाडि गएर जवाफ दिनुपर्ने दिन आउँछ ।

हामी सम्पादक वा संचारकर्मी भन्दैमा हामीले त लेखिदिएको, छापिदिएको, प्रकाशन गरिदिएको भनेर मात्रै पुग्दैन । हाम्रो पनि जिम्मेवारी छ । हामीले अर्कालाई दोष लगाएर, औंला ठड्याएर हुँदैन । हामीलाई पैसा दिन्छ भन्दैमा गलत सामाग्रीहरू मण्डलीलाई दिनु हाम्रो अपराध हो । त्यो अपराध र पापलाई हामीले प्रभुसँग पश्चात्ताप गरी क्षमा मागेर परिवर्तन हुनैपर्छ ।

अर्काे कुरा, ख्रीष्टियान संचारकर्मीहरूले जहिले पनि अर्काको दोष देखाउने, फलानो व्यक्तिले भ्रष्टाचार ग-यो, फलानो व्यक्तिले यस्तो ग-यो, उस्तो ग-यो भनेर अर्कालाई मात्रै दोष देखाउने र अर्काको खोइरो खन्ने काम भएको छ । त्यो पनि प्रभुको जनले गर्न सुहाउने कुरा होइन । पहिले आफूले आफैंलाई मूल्याङ्कन गर्नुपर्छ । कोही व्यक्तिले परमेश्वरको वचनको विरुद्ध, मण्डलीको विरुद्ध र कानुनको वर्खिलाप केही गरेको छ भने त्यसलाई सत्यतथ्य रूपमा प्रस्तुत गर्नु हाम्रो जिम्मेवारी हो । तर हाम्रो स्पोन्सर गरेन, हामीलाई छात्रवृत्ति दिएन अथवा हाम्रो पत्रिकालाई विज्ञापन दिएन भन्दैमा कोही व्यक्तिलाई आक्षेप लगाएर लेख्नु वा अनुसन्धान नगरी सुनेकै भरमा मात्रै समाचार बनाएर प्रकाशन गर्नु वा गराउनु पनि ख्रीष्टियान संचारकर्मीको गलत अभ्यास हो । त्यसले मण्डलीको पनि भलाइ गर्दैन र त्यसले पत्रिका पनि टिकाउ गर्दैन । केही समयको लागि त्यो भाइरल बन्ला । तर हामीलाई थाहा छ, भाइरल कुराचाहिँ केही दिनको लागि मात्रै हो । त्यसपछि त्यो कहाँ हराएर जान्छ, कसैले पनि याद गर्दैन । त्यसकारण ख्रीष्टियान संचारकर्मीले यी कुराहरूलाई विचार गर्नुपर्छ ।

भाषाको कुरा… । हाम्रो बीचमा भाषा जानेका केही व्यक्तिहरू छन् । उहाँहरूबाट सम्पादक, प्रकाशकहरूले बसेर सल्लाह गर्नु राम्रो हुन्छ । नत्रता आफूलाई जे मन लाग्यो, त्यही सामाग्री छापिदिने, जसरी मन लाग्यो, त्यसरी लेखिदिने गर्दा अनि भाषा सम्पादन नगर्दा अन्यजातिहरूको बीचमा हाम्रो बेइज्जत भएको छ । कोही व्यक्तिसँग सल्लाह माग्दा हामी सानो हुँदैनौं तर त्यसले हामीलाई सहायता गर्छ । आफूले नजानेको कुरा जानेको कसैलाई सोध्दैमा ख्रीष्टियान सम्पादक, प्रकाशकहरूको सम्मान घट्दैन । अथवा आफूले सिक्ने क्षमता छैन भने जानेका साथीहरूलाई राखौं । अहिले त हाम्रो बीचमा स्रोत र सामाग्रीहरू पनि छन्, त्यसलाई सदुपयोग गरौं ।
येशूको मण्डली संसारको लागि एक मात्र आसा, नैतिकताको उच्च मापदण्ड र मोक्षको पथप्रदर्शक हो । येशूका अनुयायी सम्पादन, प्रकाशक, पत्रकार, कलाकार आदि सबैले यही सत्यता र आधारमा येशूको सेवा हाम्रा सन्चारमाध्यम र सिर्जनामार्फत गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here