नेपाली इसाई मण्डली (ललितपुर) का पास्टर राजेन्द्रकुमार रोंगोंगसँग हाम्रो आशिष्का सम्पादक भुवन देवकोटाले मण्डलीको समसामयिक विषयमा गर्नुभएको कुराकानीको सारसंक्षेपः
वर्तमान नेपाली मण्डलीको स्थितिलाई कसरी हेर्नुभएको छ?
मण्डली अहिले राजनैतिक रूपले खुल्ला वातावरणमा छ। देश धर्मनिरपेक्ष भइसकेको छ, त्यो हिसाबमा हामी स्वतन्त्र छौं। हामीले हाम्रो अघि चुनौतीका साथै समस्या पनि खडा गरेका छौं। चुनौती के छ भने पहिले हामी थिचोमिचोमा परेका थियौं, हामी सावधान हुनुभन्दा पनि परमेश्वरको नजिक जान्थ्यौं। तर वातावरण खुकुलो भएको कारणले कताकता पहिलेको दाँजोमा कमजोर हो कि जस्तो लाग्छ। सानो कुरामा आफ्नै विचार लाद्ने, मनमुटाव साधारण सदस्यहरूमा मात्र होइन तर अगुवाहरूमा पनि यी कुरा देख्छौं। खुल्ला भएको कारणले नयाँकिसिमको कार्यक्रम हुने भयो तर प्रतिस्पर्धाको रूपमा गर्नाले विकृति पनि आएको मलाई महसुस हुन्छ। तर अहिले धेरै काम गर्ने मौका पनि आएको छ र हामीले मिलेर काम गर्न सक्छौं। पहिले हामी सुसमाचार, अनुगमन र चेलापन गरेर आफ्नै समुदायमा थियौं भने अबचाहिँसमाजमा र समाजभित्र काम गर्ने, आफ्नो छिमेकीलाई आफैंलाई झैं प्रेम गर्ने मौका आएको छ। अर्कोतिर होसियार रहनुपर्छ ताकि हामी छाडा भएर नजाऔं।
वर्तमान मण्डलीको नेतृत्वलाई कसरी हेर्नुभएको छ?
पास्टर भनेको गोठालो हो। गोठालो भनेको चरन कहाँछ, भेडाहरूका लागि के राम्रो छ, बाटो पत्ता लगाउनुपर्ने, हरेक भेडाहरू कहाँछन्, के गर्दैछन्, त्यो बुझ्नुपर्ने आवश्यकता हो। भेडाहरूलाई कहाँके गाह्रो हुन्छ, बुझेर सहायता गर्नुपर्छ। अनि मलाई सोध्न मन लाग्छ कि यी कुराहरू हामी अगुवाहरूले कति गरेका छौं? कतै हामीले सामाजिक संस्थाहरू वा राजनैतिक संस्थाहरूको नक्कल त गरिरहेका छैनौं? हामीचाहिँबसेर अह्राउने र यताउति मात्र गर्ने भएका छौं कि ? अर्को कुरा पहिले समूह सानो हुँदा परमेश्वरले बोलाउनुभयो। १ शमूएल १ अध्यायले सिकाएअनुसार बोल्नुहोस् प्रभु, तपाईंको दास सुन्दैछ। अहिले त हामीहरू के भन्छौं भने सुन्नुहोस् प्रभु, तपाईंको दास बोल्दैछ किनभने मेरा यति धेरै राम्रा कार्यक्रम र योजनाहरू छन्। यी कुराहरू सुन्नुहोस्, मलाई आशिष् दिनुहोस्, मलाई चाहिएको पैसा र मानिसहरू दिनुहोस्। मानिसले राखेको कार्यक्रम हुने बित्तिकै त्यहाँमतभिन्नता आउँदोरहेछ। हामीले अहिले यही कुरा देखिरहेका छौं। कति अगुवाबाट हामी यसरी फुटेर हुँदैन, जुटेर अर्थात् मिलेर गरौं भन्ने कुरा पनि सुन्नमा आएको छ।
एकताको लागि अहिले पहल भइरहेको कुरामा तपाईंको विचार?
सबैभन्दा पहिले म परमेश्वरको दृष्टिमा अति महत्त्वपूर्ण रहेछु। म र परमेश्वर, परमेश्वरले मलाई कसरी प्रेम गर्नुभयो र परमेश्वरले मलाई बनाउँदै हुनुुहुन्छ र आफ्नो स्वरूपमा मलाई बनाउन चाहनुहुन्छ। आदिम मातापिताको आज्ञा उल्लङ्घनले सबै बिग्रियो अनि फेरि प्रभुले हामीलाई आफ्नो स्वरूपमा बनाउन लाग्नुभएको छ। आत्मा, शरीर र प्राण (हाम्रो मन र संवेदना) लाई प्रभुजस्तै बनाउँदै हुनुहुन्छ। अनि मैले त्यसमा कति आज्ञापालन गरेको छु? यो कुराचाहिँहामी अगुवाहरूलाई अति नै आवश्यक छ। पा. रोबर्ट कार्थकले भन्नुभएजस्तै क्रूस कि कुर्सी ?हामी कतातिर जाँदैछौं। अनि अहिले अगुवाहरूलाई चाहिएको कुरा के हो भनेर हाल भइरहेका कार्यक्रम र अरू कुराहरूले देखाइरहेको छ। हामीले विभिन्न पत्रिका र अरू कुराहरूमा धेरै कार्यक्रमहरू भइरहेका देख्छौं, हामीले सँगै कार्यक्रम किन गर्न सक्दैनौ? हामीले मिलेर गर्यौं भने त कुर्सी छोड्नुपर्छ नि त। हामी यो काम गर्न कति तयार छौं त? हामी पहिले आफू बन्नुपर्यो अनि अरूलाई जस्तो छन्, त्यस्तै ग्रहण गर्न सक्नुपर्छ। अनि सहकार्य हुन्छ। यही कुरा नै गाह्रो छ। प्रभुले हामीलाई जे कुरा देखाउनुभएको छ, त्यहीअनुसार हामी चल्नुपर्छ।
एकताको सम्बन्धमा नेइमको अडान?
धर्मशास्त्रले जे कुरा भनेको छ, त्यही नै हुन्छ र पवित्र आत्माले जे कुरा देखाउनुहुन्छ, त्यही कुरा नै हुन्छ। अरूलाई ख्रीष्टजस्तो बनाउन आफू ख्रीष्टजस्तै बन्ने कुरामा नेइमको पक्का अडान छ।
नयाँनेपालमा ख्रीष्टियान प्रतिबद्धता भन्ने कार्यक्रमको बारेमा?
परमेश्वरले हामीलाई नेपालमा राख्नुभएको छ र नेपालमा अहिले कठिन छ। अहिले महङ्गी, लोडसेडिङ बढेको छ। राजनैतिक अवस्था भोलि कता जाला थाहा छैन। त्यसैले आत्तिने कुरा हुन्छ किनभने भोलि गएर देशको स्थिति कहाँपुग्छ? प्रभुले हामीलाई यसै समयको लागि राख्नुभएको छ। देश बिग्रियो, अब खत्तम भयो भनेर भन्नुभन्दा पनि हामीले देशको लागि प्रार्थना गर्नुपर्नेछ। प्रभुले हामीलाई के देखाउँदै हुनुहुन्छ, त्यो हामीले गर्नुपर्छ। हाम्रो सुसमाचारपछि पूर्ण सुसमाचार आत्माको लागि मात्र होइन, आत्माबाट बाँच्ने होइन तर मेरो शरीर, मेरो प्राण (मेरा मन, भावना) मा आएको परिवर्तनजस्तै मेरो छिमेकमा पनि आएको होस्। छोटकरीमा भन्नुपर्दा हामी प्रभुका छोराछोरी हौं। म प्रभुकै निम्ति जिउँछु, जसरी मैले प्रभुलाई प्रेम गर्छु, त्यसरी नै मैले मेरो छिमेकीलाई प्रेम गर्नुपर्छ। छिमेक भन्नै बित्तिकै हामी त परिवारमा, मण्डलीमा, समाजमा, राष्ट्रमा अनि नेपाल भूमिमा छौं। सबैप्रति हाम्रो दायित्व छ। हामीले जहाँगर्न सक्छौं, त्यहीँ गर्नुपर्छ। हामीले गर्ने काममा वा सुसमाचारमा चाहिँगरिब, असहायलाई सहायता गर्नुपर्ने, पैरवी पनि अब हामीले गर्नुपर्छ। मिलाप पनि गराउने हो। मिलापचाहिँघरबाट सुरु हुनुपर्छ। त्यसपछि मण्डलीमा, समाजमा अनि त्यसपछि राष्ट्रमा पनि। प्रभुले हामीलाई जहाँमौका दिनुहुन्छ, त्यो हामीले गर्नुपर्छ। राजनीतिमा भिजेको मेरो एउटा साथी हुनुहुन्थ्यो। म राजनीतिमा चासो राख्छु तर त्यसमा मेरो संलग्नता छैन। एक दिन कुराकानीको क्रममा मैले भनें, “तपाईंकै पार्टीले जित्यो भने नेपालमा परिवर्तन आउँछ त।” उहाँले सोचेर भन्नुभयो, “हुँदैन सर ?मैले के देखें भने मानिस नै परिवर्तन हुनुपर्नेरहेछ।” अनि उहाँख्रीष्टियान हुनुहुन्नथ्यो। हामीलाई त थाहा छ नि। हामी त पुरानो स्वभावका थियौं। जब प्रभु येशू आउनुभयो, उहाँले हामीलाई नयाँजीवन दिनुभएको छ। हामी नयाँस्वभावका छौं। मानिसलाई जहिले पनि धरातलमा नै राख्ने, तल्लो सोचविचारमा नै डोर्याउने जुन पाको शक्ति छ, त्योबाट हामीले छुटकारा पाएका छौं। बाइबलअनुसार हामी त परमेश्वरका छोराछोरी हौं। हामी नयाँभएका छौं भने हाम्रो आत्मा बाँचिसकेको छ। हामीले आफ्नो मन नवीकरण गर्नुपर्छ भनेर रोमी १२ अध्यायमा दिइएको छ। हामीले आफूलाई जीवित बलिदानको रूपमा दिनुपर्छ। हामी पुरानो मनुष्यताबाट नयाँमनुष्यतामा पुगेका छौं। हामीले कुनै मानिसलाई गलत दृष्टिले हेर्छौं भने अब प्रभुको दृष्टिले हेर्नुपर्छ। हामीमा प्रभु येशूको मन छ, यसको अर्थ हामीले पनि उहाँले जस्तै सबैलाई ग्रहण गर्न सक्नुपर्यो, प्रेम गर्न सक्नुपर्यो, भलाइ गर्दै, निको पार्दै हिँड्नुपर्यो। नेपालमा यही कुरा चाहिएको छ। नेपालमा दुःख पाएका मानिसहरू कति छन्, थिचोमिचोमा परेकाहरू कति छन्, शदियौंदेखि त्यही गाउँमा बसिरहेका कति छन्? त्यहाँउकास्न वा सहायता गर्नलाई कोही त लाग्नुपर्ने छ त। मेरो पुरानै स्वभावले स्वार्थ, लोभ, घमण्ड, दम्भले हुँदैन। हामी पनि येशूको प्रेममा जानुपर्छ। नयाँमानिसले नयाँरूपले देख्छ अनि उसलाई काम गर्ने इच्छा हुन्छ, काम जोशका साथ गर्न सक्छ। खुट्टा तान्ने होइन तर केही गरौं भन्ने हुन्छ। अहिलेको अवस्थामा नेपालको मण्डलीलाई केको आवश्यकता छ? चेलापन धेरै आवश्यकता छ। उनीहरूले यो पूरा गर्न सकेका छैनन्। जब प्रभुबाट सुसमाचारको लागि आज्ञा भयो, त्यहाँसबै ठाउँमा जाओ र मेरा चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ भन्नुभएको छ। अनि फेरि भन्नुभयो, मैले तिमीहरूलाई सिकाएको कुरा मान्न तिनीहरूलाई सिकाओ। यो कुरा एकदमै चाहिन्छ। मानिसको कोसिसले केही पनि हुँदैन, गर्ने त प्रभु नै हुनुहुन्छ, पवित्र आत्मा नै हुनुहुन्छ तर उहाँको शरीर छैन, उहाँको मुख छैन, हात छैन, खुट्टा छैन। त्यसको अर्थ हामीचाहिँतयार हुनुपर्छ। प्रभुको आत्मा ममा भएर काम गर्नुहुन्छ। झुटा शिक्षाको बारेमा? झुटा शिक्षामा प्रलोभन धेरै छ। एक पटक मैले एकजना अगुवा भाइलाई सोधेको थिएँ, “झुटा शिक्षाबाट बच्ने उपाय के हो?” उहाँले भन्नुभयो, “सबैभन्दा पहिलो कुरा हामीले बाइबल पढ्नुपर्छ।” मलाई लाग्छ हामी ख्रीष्टियानहरूले धर्मशास्त्र पढेकै हुनुपर्छ। यो त हाम्रो रोटी वा भोजन हो। जसरी हामीले बिहानबेलुकी दाल, भात रोटी खान्छौं, हामीलाई निरन्तर भोजन चाहिन्छ। अनि झुटा शिक्षामा पर्ने विशेष नयाँविश्वासीहरू हुन् वा पुराना भए पनि धर्मशास्त्रको ज्ञान नभएकाहरू प्रभावमा पर्छन्। साथै मण्डली पनि यस कुरामा सतर्क हुनुपर्छ। घरेलु संगतिमा बढी जोड दिनुपर्छ।
युवा पुस्तालाई कसरी हेर्नुभएको छ?
युवा प्रभुको धर्मशास्त्रमा जानुपर्छ। अहिले त डाक्टर पढेका, पिएचडी गरेका वा सक्षम युवाहरू हामीकहाँछन्। तर प्रभुको वचनमा आधारित हुनुपर्छ। आफ्नो जग प्रभुको वचनमा हुनुपर्छ। इस्राएलीहरूले लामो यात्रा तय गरे तर मोशालाई यहोशूको सहायता चाहिएको थियो। त्यस्तै सम्बन्ध आज पनि चाहिएको छ। मोशाले हात उठाउँछन् र यहोशू लडाई गर्न जान्छन्। अगुवाहरूले युवाहरूलाई दोषी देख्ने, हामीले भनेको नमान्ने भन्ने, युवाहरूले हाम्रो अगुवाले हामीलाई केही गर्न दिँदैन भन्ने ?यो समयमा एकअर्कालाई दोष देखाउनेभन्दा पनि पहिले आफूलाई हेरेर अनि कहाँमिल्ने बिन्दु हुन्छ, त्यो हेर्नुपर्छ। हामीले पवित्र आत्मालाई स्थान देऔं र हामी सबैले मिलेर काम गर्न सक्छौं। धेरै समय मण्डली र देशको सेवामा बिताउनुभयो। गर्न नपाउनुभएको केही कुरा छ? मैले स्कुलहरूमा पढाएँ। कति मन्त्री बने, कति के बने, तर कतिले राम्रो काम गरे, कतिले भनेजस्तो काम गरेनन्। अनि मैले के सिकाएँ त? अङ्ग्रेजी र हिसाब मात्रै सिकाएँ त ?ज्ञान मात्रै सिकाएँ कि के हो? यो सही हो र यो गलत हो भनेर सिकाइनँ कि भन्ने कताकता लाग्छ। कहिलेकाहीँ मौका पाएको भए मैले योभन्दा राम्रो गर्न सक्थें कि भन्ने लाग्छ।
अन्तमा?
जुन स्तरमा मण्डली वृद्धि भइरहेको छ, यी कुरा सुन्दा एकदमै खुसी लाग्छ। हामी प्रभुका छोराछोरीहरू हौं, उहाँले हामीलाई बेग्लाबेग्लै स्थानमा राख्नुभएको छ। हाम्रो उद्देश्य एउटै हो, परमेश्वरको महिमा, परमेश्वरलाई प्रेम गर्नुपर्छ र अरूलाई प्रेम गर्नुपर्छ। आजकाल हामी र हाम्रो भन्ने कुरा छ। त्यो कुनै हदसम्म ठीकै होला तर हामीले स्थानीय मण्डली र विश्वव्यापी मण्डलीको सम्बन्ध पनि थाहा पाउनुपर्छ। हामी सबै मण्डली एक हौं। यो देशमा प्रभुको राज्य बिस्तार र योजना पूरा भएको होस्।
नर्वेबाट मिसनरीको रूपमा आएर नेपालको ग्रामीण स्वास्थ्यको क्षेत्रमा निकै लामो समयदेखि सेवा पुर्याउँदै आफ्नो जीवन नेपालकै लागि अर्पेका आस्वियन भोर्लेनसँग सम्पादक भुवन देवकोटाले नेपाली भाषामा नै लिएको अन्तर्वार्ताको सारांश
तपाईंको बारेमा केही बताइदिनुहोस्?
म तेह्र वर्ष भएको समयमा मेरो सहरमा हिमाल चढ्ने पहिलो समँह नेपालको भ्रमण गरेर आएका थिए र मैले तिनीहरूसँग भेट्ने मौका पाएको थिएँ। हामीले उनीहरूले बनाएको त्यो वृत्तचित्र हेर्यौं र हामीलाई त्यो हेरेर अत्यन्तै राम्रो र अचम्म मान्यौं। त्यहाँ बस्दाबस्दै मेरो मनमा एउटा सोर मैले सुनें, त्यो सोर प्रभुको रहेछ र उहाँले मलाई बोलाउँदै हुनुहुँदोरहेछ। “म तिमीलाई यो देशमा सेवा गर्न पुर्याउँछु, त्यसैले मेरो पछि लाग।” यो एकदमै प्रस्ट थियो। नेपालमा गएर प्रचार गर्ने र साक्षी बन्ने कुरा मैले आफ्नो मनमै राखें, मेरा साथीहरूलाई मैले भनिनँ किनभने त्यो समयमा म मिसनेरी बन्ने योग्यको छु भन्ने मलाई लागेन। केही वर्षपछि हाम्रो मण्डलीमा भएको एउटा कार्यक्रममा गएँ। त्यसपछि म मेरो मिसनरी पास्टरको घरमा यसको बारेमा सल्लाह लिन गएँ। मैले आफ्नो कुरा बताएपछि उहाँले ‘यो कुरा राम्रो हो तर नेपाल हिमाल भएको देश भए पनि सुसमाचार प्रचारको लागि बन्द भएको देश हो। त्यसैले त्यहाँ कोही ख्रीष्टियानहरू छैनन् जस्तो मलाई लाग्छ। तिमीले अर्को देशको लागि प्रयास गर किनभने यस्तै प्रकारको देश धेरै छन्’ भन्नुभयो। यो सन् १९५२ तिरको कुरा थियो। त्यो बेलासम्ममा आइएनएफले आफ्नो काम थालेको र रामघाट मण्डली स्थापना भई सेवकाइ सुरु भएको कुरा उहाँलाई थाहा रहेनछ। केही वर्षपछि मेरो मास्टरको तालिम सिद्धाउनको लागि एउटा मेसिनको बारेमा काम गर्दा मैले मेरो किताबमा एउटा विशेष नाम पत्ता लगाएँ “नर्वेजिएन तिब्बतीयन मिसन”। यो सुन्दा म एकदमै छक्क परें। त्यही क्षेत्रको लागि काम गर्ने मिसन हो कि भनेर चिठी लेखें। त्यो बेलामा हाम्रा मिसनेरीहरू चाइनाबेलायत मिसनबाट त्यो क्षेत्रमा जानुभएको थियो। त्यहाँ कम्यँनिष्ट सुरु हुन लागेको हुनाले उनीहरू बिस्तारै नेपाल आए। सन् १९५८ मा युनाइटेड मिसनमा हाम्रो देशका मानिसहरू साथै मेरा साथीहरू जानुभएको रहेछ। मेरो मास्टर तालिम सिद्धिएपछि कहाँ जाने, के गर्ने भनेर म अलमल्लमा परें। त्यो बेलामा थाहा भयो कि प्रभु मेरो अघि गएर मेरो लागि ढोका खोल्नुभयो। मेरी पत्नीले पनि परमेश्वरबाट मिसनरीको बोलावट पाएकी थिइन्। हाम्रो ह्दयमा र आत्मामा एउटै कुरा थियो र केही समयपछि हामीले विवाह गर्यौं। हामी दुःख र सुखको भारी बराबर बोक्न तयार भएका थियौं। हाम्रो पहिलो वर्षमा हामीले युनाइटेड मिसनमा काम गर्यौं। हामी गोरखा जिल्लाको आँपपिपल गाउँमा गएका थियौं। त्यो बेला हामी त्रिसुलीबाट ५ दिन हिँड्यौं। त्यो बेलामा रमाइलो भए पनि मेरी श्रीमतीलाई मलेरिया र टाइफाइड पनि भएको थियो। यस्तो भए पनि हामी सड्चालीस वर्षदेखि नेपाल आउने जाने र सेवा गर्ने काम गरिरहेका छौं। हामीले युनाइटेड मिसनमा तीस वर्ष काम गर्यौं। त्यसपछि मैले त्रिभुवन विश्वविद्यालयमा गएर तिब्बती भाषा सिकें। सेन्ट्रल एसिया फेलोसिप खोलेर रेडियो सेवकाइ र बाइबल अनुवादमा सहायता गरेर तिब्बती जातिको लागि विशेष, नेपालमा, चीन, मंगोलिया, साइबेरियामा स्थानीय ख्रीष्टियानसँग मिलेर काम गर्दैछौं। करिब पाँच वर्ष आइएनएफमा पनि काम गरें।
तपाईंले प्रभुलाई कसरी पाउनुभयो?
दोस्रो विश्व युद्धको समयमा हामी बमको सेल्टरमा बसेको समयमा मैले प्रभुलाई चिनेको थिएँ। त्यो बेला हामी निकै साना थियौं, त्यो समयमा नै मैले आफ्नो जीवन उहाँमा सुम्पिएँ। तपाईंले नै मलाई चलाउनुहोस्, मलाई हिँडाउनुहोस् भनेर मेरो सानो हात उहाँमा सुम्पिएँ। मेरो आमाले पनि प्रार्थना गरेर प्रभुलाई ग्रहण गर्नुभयो र त्यो बेलामा साह्रै डरलाग्दो अवस्था थियो।
त्यो बेलामा मिसनरीहरूले गरेको काम कस्तो थियो?
त्यो बेलामा नियम, कानुन कडा थियो। प्रचार गर्ने र विश्वासी बन्ने कुरामा निषेध थियो। हिन्दँबाट ख्रीष्टियान बने पनि उनीहरू जेलमा जानुपर्थ्यो। हामीले पनि अस्पताल, स्कुलहरूमा प्रचार गर्न पाएनौं। यो हिन्दँ देश भएको हुनाले सरकारले हामीलाई एउटा काममा जोडेको थियो, अम्ब्रेला मिसन। यो पनि प्रभुको काम थियो। हामी सुरुबाटै एकता बनाउन युनाइटेड मिसन र आइएनएफ एक थियौं। भिन्नै देशको मिसन र भिन्नै मण्डली र मिसन भए पनि हामी प्रभुमा एकतामा आएका थियौ। एकअर्कासँग नयाँ कुरा बाँड्न थियौं। हामीलाई बाधा दिने नियमकानुनबाट नै प्रभुले हामीलाई एकता दिनुभयो। नेपालमा जागृति आएको थियो। साथै हामीले मण्डलीको नेतृत्व नलिने कुरा पनि धेरै महत्वपँर्ण थियो।
मिसनरीहरू बीचको एकता कस्तो थियो?
हामी गोरखाको प्रोजेक्टमा करिब आठ वर्ष बस्यौं। हामी त्यहाँ बस्दा हामीले आफ्नो दुःख सुख त्यहाँका मानिसहरूसँग बाँड्यौं। विभिन्न देशमा भएका ख्रीष्टियानहरू हाम्रा दाजुभाइहरू हुन्।
त्यस ठाउँमा बस्दा नर्वेको खाना र बसोबास नेपालसँग नमिलेको थियो कि?
त्यस्तो गाह्रो भएन। दोस्रो विश्व युद्ध हुँदा हामीलाई खान पुगेको थिएन। धेरै दुःख पनि सहनुपरेको थियो। त्यसकारण हामी सानैदेखि पैसाले धनी थिएनौं। यहाँजस्तै खेतीकिसानीको काम गर्थ्यौं, जुन हाम्रो लागि गाह्रो काम थिएन। तर हिजोआजका आधुनिक मानिसहरू अरू देशमा गएर काम गर्न अलिक गाह्रो छ। गाउँलेहरू हिन्दँ भए पनि हामीलाई धेरै सहायता गर्थे। म एक साता दश वटा स्कुल घुम्न गएको समयमा मानिसहरू हिन्दँ भए पनि मलाई धेरै सहायता गरे। आफ्नो घरभित्र छिर्न नदिने भए पनि आँगनमा नै बसेर खाना खाएर सुतेको थिएँ। तर आफ्नो घरमा जाँदाचाहिँ मलाई गाह्रो भएको थियो। यहाँको वातावरण हाम्रो लागि अनुकुल नै थियो। कामअनुसार म काठमाडौंमा नै बस्नुपर्ने थियो तर मलाई सधैं गाउँमा बस्न मन लाग्थ्यो।
तपाईंलाई नेपाली भाषा सिक्न कति समय लाग्यो?
म काठमाडौंमा चार महिना बसेको थिएँ। त्यसपछि म स्कुलमा पढाउँथें, त्यहाँका विद्यार्थीहरूले मलाई नेपाली भाषा सिकाएका थिए। म मास्टर भए पनि दिनदिनै नयाँ शब्द सिक्थें र गल्ती भए पनि मलाई सुधार भन्ने गर्थें।
साठी वर्षमा मिसनरीहरूले गरेका काम?
हुन त हाम्रो डिग्रीअनुसार हामी ठँला छौं भन्न खोजेको होइन तर हामी सिक्न आएका थियौं। हामी दाजुभाइदिदीबहिनीको रूपमा आएका थियौं। हामी भाषाका साथमा नयाँ कुरा पनि सिक्न तयार थियौं। हामी सबैमा सेवा गर्ने मन होस् भन्ने प्रार्थना हामी गर्थौ। हामी ख्रीष्टियान संगतिमा भए पनि येशँ ख्रीष्टको सेवा गर्न आएका थियौं। कानुन अनुकुल नभए पनि हामीले नेपाली दाजुभाइहरूलाई सँगसँगै सिकाउने र काम गर्ने गर्थौ। ती बाधाहरू भए पनि हामीलाई ती कुरा प्रभुको लागि असलै थियो। हुन त हामीसँग प्रशस्तै पैसा थियो तर हामीले पैसालाई ठक्कर खाने बाटो बनाएनौं। हामीले ती स्रोतहरू पास्टर वा नेताहरूलाई अगाडि बढाउन होइन तर मण्डली, गरिबी र देशको लागि विशेषगरी सेवा गर्न चाहन्थ्यौं।
नेपाली मण्डलीको कामको मँल्याङ्कन कसरी गर्नुहुन्छ?
सुरुमा ख्रीष्टियानहरू थिएनन् तर हामी बीउ छर्न आएका थियौं। हामी सबैलाई समान प्रेम र दया गर्न चाहन्थ्यौं। यहाँ जातीय भेदभाव थियो तर हामीले ती कुराहरूलाई मान्यता दिएनौं। केटा र केटीमा समानताको कुरा मण्डलीमा मात्र थियो। मण्डलीको लागि ठँलो भवन बनाउने होइन तर त्यसलाई जरादेखि नै जातीय कुरा, भेदभाव र उँचनिचको कुराबाट बाहिर राखेर निर्माण गर्ने काम भएको थियो। अनौपचारिक शिक्षाले पनि बाइबल अध्ययन गर्न र पास्टरमा मात्रै भर नपरी बाइबलका कुराहरू पढ्न सहायता गरेको थियो। साथै त्यतिबेलासम्म बाइबल नेपालीमा अनुवाद भइसकेको थियो साथै नेपाली आराधनाका गीतहरू पनि थिए। ती तामाङ, शेर्पा, मगर भाषामा पनि बाइबल अनुवाद गर्ने काम भएको थियो। साथै गीतहरू पनि नेपाली भाका र लयअनुसार कायम गरिएको थियो। मण्डलीहरू गाउँगाउँमा पुग्न बोलावट र दर्शन मिलेको होस् भन्ने हाम्रो चाहना थियो। हामी मिसनरीको रूपमा नर्वेबाट आएका थियौं तर अब तपाईंहरूको पालो हो। पैसाको काम आफ्नै ठाउँमा छ तर प्रभुको आशिष् र शक्तिले मात्र यस देशमा प्रभुको राज्य बिस्तार हुन्छ।
अन्त्यमा?
प्रकाशको पुस्तकमा सात वटा मण्डलीलाई पत्र पठाइएको छ तर हरेक पत्रको अन्त्यमा यही नै लेखिएको छ, जसको कान छ, त्यसले सुनोस्। आजका हरेक मण्डलीका अगुवाहरूले ध्यान साथ सुन्नुहोस्, परमेश्वरको योजना पवित्र आत्माद्बारा नै प्रकट हुन्छ। इतिहास आफ्नो ठाउँमा नै छ। अब भविष्यमा प्रभुको योजना अझ धेरै छ। हामी सबै मिलेर प्रार्थना र नम्रता साथ प्रभुको सुसमाचार हरेक जातिमा सुनाउनु छ। प्रभुको सेवा पैसाले होइन तर प्रेम, संगतिबाट हो।
नेपालमा निकै परानो विश्वासी भनेर पनि चिनिनु हुने लाजरस भट्टराईसँग सम्पादक भुवन देवकोटाले गर्नुभएको कुराकानीको सार संक्षेप।
अहिले के गर्दै हुनुहुन्छ?
मण्डली, सभाहरूमा निम्तो पाएअनुसार र प्रभुले देखाएअनुसार प्रभुको वचनबाट बोल्ने र सिकाउने काम गर्छु। सम्बन्धमा आउनुभन्दा पनि सम्बन्धसँग राम्रो हुन्छ भनेर सोच्छु। म स्थानीय मण्डलीमा भए पनि त्यहाँको कमिटीमा कहिल्यै पनि आइनँ तर म उहाँहरूको अधीनमा नै छु।
तपाईंले प्रभुलाई कसरी पाउनुभयो?
म काठमाडौंको नेपाल राष्ट्र बैकमा काम गर्थें। शान्त भवनमा स्वास्थ्य परीक्षणको लागि गएको थिएँ, त्यहाँ मलाई कुष्ठरोग लागेको छ भनेर बताइयो। त्यहाँ मलाई नियमित रूपमा औषधी दिइयो। केही समयपछि पोखरामा सरुवा भयो। औषधी लिएको करिब दुई वर्षभन्दा बढी समयपछि मलाई एक पटक निकै नराम्ररी रियाक्सन भयो। त्यो समयमा हरियोखर्क अस्पतालको इर्न्चाज आइलिन लजले तपाईं भर्ना हुनुपर्छ, बाहिर बसेर हामीले तपाईंको रोगको उपचार गर्न सक्दैनौं भनेर बताउनुभयो। त्यहाँ बस्दा मैले प्रभुको बारेमा धेरै कुरा सुन्ने मौका पाएँ। तर यो त अङ्ग्रेजहरूको साम्राज्यवाद फैलाउने उपाय मात्र हो भनेर मैले सोच्थें। मैले धेरै विरोध पनि गरें। म भर्ना भएको नौ महिनापछि मलाई छुट्टै एउटा कटेजमा राखियो। एकदिन बलबहादुर भन्ने विद्यार्थी मेरो कोठामा आएर यो के लेखिएको हो, मैले पढ्न सकिनँ भन्यो। त्यो अङ्ग्रेजी ट्रयाक्स् थियो। मैले त्यो अनुवाद गरेर बुझाउन थाले। जब मैले त्यसको बारेमा बुझाउँदै गरें, मैले सोचे कि यो केटो बदमास छ, यो ख्रीष्टियान बन्यो भनेर राम्रो हुन्छ। त्यही तरिकाले बुझाउन थालें। त्यसपछि त्यो केटो गयो तर मलाई राति निद्रै लागेन। उसलाई बुझाएका कुराहरू नै मेरो मनमा आउन थाले, येशू को हुनुहुन्छ, कसको लागि मर्नुभयो, तँ पनि पापी होस्…। पवित्र आत्माले मलाई पश्चात्ताप गर्न लगाउनुभयो र मैले आफ्नो पापको क्षमा मागें। त्यसपछि प्रभुलाई ग्रहण गरें।
मण्डलीको स्थिति कस्तो थियो?
त्यो बेलामा कानुनअनुसार कसैले ख्रीष्टियान बनाउन सहायता गर्यो र पानीमा बप्तिस्मा दियो भने ६ वर्षको कैद वा कोही विदेशी छ भने देश निकाला गरिदिने सजाय थियो। कोही नेपाली ख्रीष्टियान भएको छ भने १ वर्ष कैद र फेरि हिन्दू धर्ममा ल्याउने सजाय थियो। पूर्वमा करिब-करिब मण्डलीहरू शून्य नै थियो तर केही मानिसहरू ख्रीष्टियान थिए भनेर मलाई पछि थाहा भयो। वि.सं. २०२० सालको समयमा वर्षको एक पटक ख्रीष्टियानहरूले दशैंको समयमा भेटघाट र सम्मलेनहरू गर्थे। त्यसमा मुस्किलले ६०-७०जना हुन्थे। त्यो बेलामा आइतवार सेवा हुन्थ्यो।
त्यो समयका विश्वासीहरू?
अहिलेको तुलनामा त्यो बेलाका विश्वासीहरू राम्रा थिए किनकि विश्वास गर्नुको अर्थ झ्यालखानामा जान तयार हुनु थियो। बप्तिस्मा दिने हो भने ६ वर्षको कैदको सजाय भएको हुनाले छानिएर आएका मात्र ख्रीष्टियानहरू थिए। सबै कुराहरूको सामना गर्न तम्तयार भएका हुनाले ह्दयदेखि नै ख्रीष्टियान बनेका थिए।
अगुवाहरू?
त्यो समयमा साधारण विश्वासी हुनमा त त्यस्तो मूल्य तिर्नुपर्थ्यो भने अगुवा भएपछि त झन् धेरै मूल्य तिर्नुपर्थ्यो। त्यो बेलामा प्रभुको साँचो भक्त भएर अगुवाहरूले काम गरेका थिए।
विश्वासीहरू बीचको प्रेम, एकता र मेलमिलाप कस्तो थियो?
त्यो समयमा विश्वासीहरूको बीचमा प्रेम, एकता र मेलमिलाप एकदमै राम्रो थियो। तर हामीले आफ्नो ह्दय परिवर्तन गरेका भए पनि नेपाली रीतिरिवाजहरू हामीले छोड्न सकेका छैनौं। अहिलेको तुलनामा पहिले त राम्रो नै थियो तर जति हुनुपर्ने थियो, त्यस्तो प्रकारको थिएन।
वि.सं. २०४६ सालअघि र पछिको मण्डलीमा फरक?
सारा राजनैतिक अवस्थामा प्रभुको हात छ। ०४६ सालअघि सतावट धेरै थियो। तीस वर्षको त्यो समयमा मण्डली र विश्वासीहरूले पाको हुने मौका पाए। साँचो विश्वासी र कमजोर विश्वासी मज्जाले छानिए। त्यो बेला पनि देखावटी ख्रीष्टियानहरू त थिए तर ०४६ सालपछि ती कुराहरूमा बाढी नै आयो। मण्डली र पास्टरहरूको सङ्ख्या पनि बढेर गएको छ। कुन प्रभुको इच्छामा हो र कुन होइन भनेर हामीले पनि छुट्टयाउन गाह्रो भएको छ।
त्यो बेलाका अगुवा र अहिलका अगुवाको बीचमा के फरक छ त?
प्रभु येशूले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न आउँछ तर गोठालो ढोकाबाट छिर्छ।” त्यही कुरा नै अहिले भइरहेको छ। अगुवा मात्रै बन्नको लागि मानिसहरूले मण्डली फुटाइरहेका छन्। बाइबलअनुसार पहिलेे मण्डली प्रेरितीय सेवकाइ भएको व्यक्तिबाट मण्डली खडा हुन्छ। तर अहिले त पहिले पास्टर निस्कन्छ अनि उसले मण्डली खडा गर्छ, जुन बाइबलसम्मत छैन।
यसको कारण?
यसको कारण धेरै छ। हामीले विदेशी पैसा खाएका छैनौं भनेर त भन्छौं। तर विशेष काठमाडौंमा जुन मण्डलीको जग्गा र भवन छ, ती त्यही मण्डलीका विश्वासीहरूको सहयोग र भेटीमा खडा भएको हो भनेर म भन्न सक्दिनँ। बाहिरबाट आउने पैसा साँचो ख्रीष्टियानले साँचो ह्दयले पठाइरहेका छन्। त्यस्तै यहाँ ती कुराहरू पाउने अगुवाहरूले राम्रो प्रकारले पनि चलाइरहेका छन् भने कसैले दुरुपयोग पनि गरेका छन्। त्यो सहायता आउन बन्द हुने हो भने नेपालका करिब ७०-८० प्रतिसत मण्डलीहरू बन्द हुन्छन्। त्यति मात्र होइन भेरै संस्थाहरू, अनाथ होम र बाइबल कलेजसम्म पनि बन्द हुन्छन्। यस अवस्था आउनुमा पहिलेका अगुवाहरूको पनि केही हात त छ नि? नेपालमा खडा भएका सबै मण्डलीहरू प्रभुको इच्छाबाट खडा भएका छैनन्। येशूले भन्नुभयो, म मेरो मण्डली स्थापना गर्नेछु। अहिले हामीले भन्छौं, फलानो व्यक्तिको मण्डली, बोलीचालीमा त्यो कुरा ठीक होला तर वास्तवमा आज त्यो प्रभुको मण्डली बन्नुको साटो त्यही व्यक्तिको मण्डली बनिरहेको छ। तर त्यो अगुवा भगुवा बनेर गयो भने त्यो मण्डली पनि गयो साथै विश्वासीहरू पनि। बालुवामा घर बनाएजस्तै हो।
अहिलेको स्थितिबाट प्रभुको मण्डली हुन र प्रभुतिर फर्कन?
२ इतिहास ७:१४, मेरा मानिसहरू, जो मेरो नाउँमा कहलिएका छन्, तिनीहरूले पश्चात्ताप गरे र मतिर फर्के भने म तेरो देशलाई निको पार्छु। मण्डलीमा पनि त्यही कुरा लागू हुन्छ। यी मण्डलीका अगुवाहरूले आफूले प्रभुभन्दा बाहिर गरेका कामको लागि सम्पूर्ण रूपमा पश्चात्ताप गरेर फर्किएर आफ्नो पाप मानिलिए भने प्रभुले तिनीहरूलाई निको पार्नुहुन्छ।
मण्डलीभित्र रहेका युवा पुस्ताको बारेमा?
पत्रुसले पेन्तिकोसको दिनमा भनेका थिए, आखिरी दिनहरूमा यस्तो हुनेछ भनेर प्रभु भन्नुहुन्छ, म सबै प्राणीमाथि आफ्नो आत्मा खन्याइदिनेछु। युवाहरूले अगमवाणी गर्नेछन्, बुढाहरू स्वप्नदर्शी हुनेछन्। प्रभुले हरेकमा काम गरिरहनुभएको छ। आज पनि एउटा मात्र युवाले प्रभुको सोर सुनेको छैन तर समूहमा सबैले सुनिरहेका छन्। दुःखलाग्दो कुरा अगुवापन नै समूहमा छैन।
अहिलेको स्थितिअनुसार भविष्यको अवस्था कस्तो देख्नुहुन्छ?
प्रभुले भन्नुभयो, म मेरो मण्डली बनाउनेछु। त्यसैले उहाँले काम गरिरहनुभएको छ। प्रभुको नजरले हेर्नुहोस्, भविष्य एकदमै राम्रो छ। उहाँले भन्नुभयो बाली कटनीको लागि पहेंलो भइसकेको छ, प्रभुको दृष्टिमा अन्न पाकिसकेको छ। हामी प्रभुको लागि हरमूल्य चुकाउन तयार हुनुपर्छ। उहाँको काम कसैले पनि रोक्न सक्दैन र उहाँले आफ्नो जन बनाउने काम गरि नै रहनुभएको छ। उहाँ मण्डली स्थापना गरिरहनुभएको छ र उहाँ त्यो उद्देश्यमा सफल पनि हुनुहुन्छ। उहाँको काम गर्ने मन उहाँबाटको हो र उहाँको काम गर्दै जानु उहाँबाटै हो। उहाँ सबै नै हुनुहुन्छ। हाम्रो ख्रीष्टियान जीवन उहाँबाट सुरु हुन्छ र उहाँमा नै पाको हुन्छौं। ख्रीष्टको चिनाइमा र अनुग्रहमा बढ्दै जाओ भनेर २ पत्रुस ३:१८ मा पत्रुसले भनेका छन्। अन्तिम शब्दअनुसार हामी त बढ्दै जाँदैछौं र बढ्दै जान्छौं। जसलाई उहाँले चिन्नुहुन्छ, त्यसले उहाँलाई पछ्याउँछ तर जसलाई उहाँले चिन्नुभएको छैन, तिनीहरूले सोर सुन्दैनन्, अर्कै सोर सुनिरहेका छन्। कुनचाहिँ सोर सुन्दैछन्, सांसारिक सोर, शैतानको सोर कि आफ्नै सोर सुन्दैछन्?
अन्तमा के भन्नुहुन्छ?
हाम्रो जीवनमा धेरै कमजोरीहरू छन्। हामीले प्रभुमा परिश्रम गर्यौं भने व्यर्थ हुँदैन, त्यो सफल हुन्छ। आज पनि धेरै अगुवाहरूले येशूलाई पछ्याइरहेका छन् तर कोहीले नजिकबाट त कोहीले टाढाबाट। आफ्नो नजरमा १०० प्रतिशत भए पनि प्रभुमा कति प्रतिशत छौं, त्यो बारेमा हामीले जान्नुपर्छ। हाम्रो काम इन्साफ दिने होइन तर आफ्नो भाइलाई सुधार्ने हो।
पूर्वी नेपालको मोरङ जिल्लामा स्थायी बसोवास भएका धनबहादुर श्रेष्ठ प्रभुको मण्डलीका सदस्य हुनुहुन्छ। उहाँ विगत आठ वर्षदेखि मलेसियाको नेपाली संगतिमा एक अगुवाको रूपमा सेवारत हुनुहुन्छ। गएको ख्रीष्टमसको अवसरमा केही दिनको बिदामा उहाँ नेपाल आउनुभएको थियो। सोही अवसरमा सम्पादक भुवन देवकोटासँग भएको कुराकानीका केही अंशहरूः
मलेसियाको संगति कस्तो छ?
मलेसियाको संगतिमध्येमा हाम्रो संगतिको नाम क्लाङ नेपाली चौतारी राखेका छौं। चौतारी भनेको दुःख बिसाउने ठाउँ हो। त्यसकारण त्यहाँ धेरै मानिसहरू आउँछन्। यो वास्तवमा के हो भनेर मानिसहरू जम्मा भएर बुझ्न आउँछन् र संगतिको बारेमा बुझ्ने मौका पाउँछन्। अहिले त्यहाँको संगति राम्रो भएको छ। नेपालीहरूले प्रभुको बारेमा सुन्ने र विश्वास गर्ने क्रम भइरहेको छ।
मलेसियामा कति वटा नेपाली मण्डलीहरू छन्?
मलेसियामा नेपाली ठूला मण्डली भनेर हामीले ३०-३५ वटा गन्न सक्छौं तर सङ्ख्या भने ६०-८० पुगिसकेको छ।
उनीहरूको बीचको एकता?
अहिले हामी मलेसियालाई तीन-चार भागमा हेर्छौं। सिंगापुरको सीमानामा ठाउँमा नेपाली संगति छ। उनीहरू एक भएर काम गरिरहेका छन्। क्वालालाम्पुरमा भएको संगतिमा पनि एकता छ। पेनाङमा पनि नेपाली संगतिमा त्यस्तै छ। हामी एक वर्षमा वा छ महिनामा सबै ठाउँका मानिसहरू भेटघाट पनि गर्र्छौं।
मलेसियामा नेपालीहरूको सङ्ख्या कति छ?
अहिलेको नयाँ तथ्याङ्कअनुसार मलेसियामा करिब ५ लाख नेपालीहरू छन्। नेपाली राजदूतावासअनुसार करिब ७० हजार नेपाली दाजुभाइहरूले अवैध रूपमा काम गरिरहेका छन्। अवैध बस्नेहरूलाई एकदमै गाह्रो छ। अहिले त्यहाँको सरकारले यस्तो कुरामा धेरै कडा गरिरहेको छ। सरकारले मण्डलीमा आएर छापा मार्ने काम गरेको छैन तर विभिन्न रेस्टुरेन्ट, होटलहरूमा छापा मारिरहेको छ।
नेपाली ख्रीष्टियानहरू?
हाम्रो अनुमानमा र हाम्रो क्षेत्र क्वालालामपुरमा लगभग १५-२० वटा मण्डलीहरू छन्। त्यस क्षेत्रमा विश्वासमा दहि्रलो भएर अगाडि बढ्ने भनेको हजारभन्दा माथि छन्। हामीले ५० भन्दा बढीलाई हरेक वर्ष बप्तिस्मा दिइरहेका छौं। हामीले विगत आठ वर्षमा करिब ७०० भन्दा बढीलाई बप्तिस्मा दिइसकिएको रेकर्ड हामीसँग छ। यसको अर्थ मलेसियामा हरेक नेपाली मण्डलीले वर्षमा ७०० जनालाई बप्तिस्मा दिइरहेको छ।
मलेसियामा रहेका विश्वासीहरूको आत्मिक अवस्था?
मलेसियामा रहेका विश्वासीहरूका बारेमा भन्नुपर्दा विशेषगरी त्यहाँ नै विश्वास गरेकाहरू र यहाँ विश्वास गरेर मलेसिया गएकाहरूमा धेरै भिन्नता पाइन्छ। त्यहाँ प्रभुलाई पाएकाहरूमा नयाँ जोश र जाँगर हुन्छ। हामीले संगति गर्नुपर्नेरहेछ, प्रभुका बारेमा हामीले सुनेका छौं, हामीले अरूलाई पनि भन्नुपर्छ भन्ने उनीहरूमा छ। यहाँबाट विश्वास गरेर गएकाहरूमध्ये धेरैको विचार मचाहिँ पैसा कमाउन आएको हुँ, संगति भनेको नेपालमा गइरहेको हो, यहाँबाट फर्केर गएपछि गरौंला भन्ने छ। कति पुराना विश्वासीहरूमा सम्प्रदायको कुरा आउँछ। धेरैले यो कुन सम्प्रदायको हो, कस्तो हो, के हो, हाम्रो मिल्छ कि मिल्दैन भन्ने कुरा गर्छन्। म त्यहाँको अगुवा भएको हुनाले मैले यहाँ सम्प्रदायको कुरा प्रचार गर्ने होइन, मलाई बाइबलले जुन कुरा दिएको छ, जुन कुरा बाइबलले बताएको छ, त्यो कुरा प्रचार गर्ने मेरो काम हो, सम्प्रदायको प्रचार गर्ने व्यक्ति होइनँ भन्ने गर्छु।
सेवकाइको हिसाबले नेपालमा सजिलो कि मलेसियामा?
यसमा दुई वटा कुराहरू छन्। पहिलो कुरा, त्यहाँ साथीभाइसँगको भेटघाट। उनीहरूको समयअनुसार हुन्छ, त्यसको अर्थ काम गर्ने समय सिद्धिसकेपछि उनीहरूसँग भेट्ने काम हुन्छ किनभने उनीहरूले दिनभरि काम गरेका हुन्छन्। कतिको बेलुका ७ बजे कामको समय सिद्धिन्छ भने कतिको ८ बजे। अनि हामी सधैं कोठाबाट ७ बजे निस्कनुपर्छ। त्यसपछि उनीहरूलाई भेट्ने क्रम सुरु हुन्छ। बेलुका कहिलेकाहीँ १२ पनि बज्छ। कोठामा फर्केर आउँदा १ पनि बज्छ। रातिको समय अलिकति समस्या नै छ तर त्यहाँका भाइहरूको उत्साह देख्दा त्यो वास्तवमा केही पनि होइन जस्तो लाग्छ।
मलेसियाका स्थानीय विश्वासीहरूले नेपालीहरूलाई कसरी हेर्छन्?
मलेसियामा भएका जति पनि विश्वासी छन्, उनीहरूले नेपाली ख्रीष्टियानहरूलाई राम्रो प्रकारले हेर्छन्। त्यहाँ विशेषगरी भारतीय र चीनियाँहरू छन्। मलेसिया मुसलमान देश हो। त्यसकारण हामीले त्यहाँ भएका मुसलमानहरूलाई सुसमाचार सुनाउन मिल्दैन। त्यहाँको कानुनले हामीलाई त्यस्तो गर्न दि226128156दैन। विशेष काम गर्ने भने भारतीय र चीनियाँहरूले हो। जति पनि ख्रीष्टियान भारतीय र चिनियाँहरू छन्, उनीहरूले नेपालीहरू र अरूप्रति गर्ने व्यवहार धेरै राम्रो छ।
त्यहाँ सुसमाचार सुनाउन कत्तिको सजिलो वा अप्ठ्यारो छ?
म अहिले जुन सेवकाइसँग मिलेर काम गर्छु, त्यहाँ ८-९ वटा भाषीहरूको बीचमा त्यसले काम गर्छ। त्यसैले जब हामी निस्कन्छौं, हामी सबै एउटै गाडीमा मिलेर ठूलो फ्याक्ट्रीहरूमा जान्छौं र त्यहाँ गएर आफ्नो जातिलाई भेला पारेर सुसमाचार सुनाउँछौं। हामी त्यहाँ जाँदा मादल र गीतार बोकेर जान्छौं, जम्मा हुन सजिलो हुने स्थानमा मादल बजेपछि नेपालीहरू त्यहाँ के भइरहेको छ भनेर जम्मा हुन थाल्छन्। हामीले एक दुई वटा गीत गाइसकेपछि हामीले सुसमाचार सुनाउन सुरु गर्छौं र सुसमाचारका पर्चाहरू पनि बाँड्ने काम गर्छौं। हामी उनीहरूकै स्थानमा गएर सुसमाचार सुनाउँछौं।
मानिसले कत्तिको सजिलो वा गाह्रो गरी विश्वास गर्छन्?
विदेशमा हाम्रा नेपाली दाजुभाइहरूले यी कुरा सजिलै स्वीकार गर्न सक्छन्। घर र आफ्नो देशलाई छोडेर गएपछि उनीहरू एकदमै एक्लो महसुस गरिरहेका हुन्छन्। मसँग केही पनि छैन भन्ने महसुस हुन्छ। उनीहरूसँग मित्रता गरेर जब हामीले यी कुराहरू सिकाउन थाल्छौं, उनीहरूमा म एक्लो थिएँ, मेरो वास्ता गर्ने कोही रहेछ भन्ने प्रकारको हुँदोरहेछ। उनीहरूलाई कसैले सुसमाचार सुनाए भने उनीहरूले सुन्छन् र मण्डलीमा बोलाएमा पनि आउँछन्। तर हामीले त्यही काम उनीहरूको घरमा गएर गर्यौं भने उनीहरू आफ्नो परिवार र घरको कारणले सधैं मण्डली आउन सक्दैनन्। इच्छा भएर पनि मण्डलीमा आएर कुराहरू बुझ्न सक्दैनन् भने त्यहाँ यी कुराहरू सजिलो छ।
उनीहरूलाई हुर्काउँदा?
हामीले वर्षमा दुई पटक अगुवापनको तालिम, चेलापनको तालिम, हप्तामा सानो समूह बनाएर बाइबल अध्ययन गर्छौं। त्यत्ति मात्रै नभएर नेपालबाट अगुवालाई बोलाएर सिकाउने काम पनि हुन्छ। उनीहरूको आत्मिक क्षेत्रलाई बढाउने कामचाहिँ भइरहेको छ। हुर्केका मानिसहरूले अरूलाई चेला बनाउँछन्। हाम्रो ल73य भनेको मलेसियामा विश्वास गरेकाहरू विश्वासमा अझ परिपक्व होऊन् र नेपालमा फर्केर आएपछि पनि अन्योलमा नपरून् भन्ने हो। कति जनाको गाउँघरमा मण्डली छैन। मण्डली नभएकाहरूलाई बलियो बनाएर त्यहाँ मण्डली स्थापना गर्ने प्रकारले परिपक्व बनाउने हाम्रो योजना छ। हामीले एउटा मिनिष्ट्री स्कुल भनेर पनि खोलेका छौं, त्यहाँ २० जनालाई करिब ६ महिना अगुवापनको तालिम गराउँछौं।
मलेसियाको नेपाली मण्डली कत्तिको धनी छ?
प्रायः नेपाली मण्डलीले त्यहाँका स्थानीय मण्डलीसँग सहकार्य गरिरहेको छ। मलेसियामा हामीले गाडी चलाउनुपर्ने हुन्छ किनकि हामीले विश्वासीहरूलाई लिन जाने, ल्याउने काम गर्नुपर्ने हुन्छ। एमएनके भन्ने यो सेवकाइमा करिब २८ वटा मण्डली आबद्ध छन् र हरेकले ३००-५०० रिङ्गेटसम्म दिन्छन्। त्यसलाई नै एउटै ठाउँमा भेला पारेर ८ वटा देशको संगति हुन्छ। त्यसैले हामीले १० वटा बस र १२-१३ वटा भ्यान चलाउँछौं। वर्षमा पचास हजार रिङ्गेट वर्षमा मात्रै लाग्छ। ८ वटा देशको लागि करिब १०-१५ जना हामी सेवकहरू छौं। त्यहाँ उनीहरूलाई सानो उपहार दिइने गरिन्छ, त्यो तलबको हिसाबले ठूलोचाहिँ होइन। नेपाली विश्वासीहरूबाट आएको भेटी र दशांशलाई यही सेवकाइमा लगाइरहेका छौं।
समग्रमा मलेसियामा नेपालीहरूको अवस्था के छ?
८० प्रतिशत नेपालीहरू जुन आशा लिएर मलेसिया आएका छन्, उनीहरूले त्यो पाइरहेका छैनन् किनकि एजेन्टहरूले उनीहरूलाई धेरै कुरामा ठगिरहेका छन्। जुन आशा उनीहरूलाई देखाइएको हुन्छ, त्यो उनीहरूले पाएका छैनन्। उनीहरूको आधारभूत तलब ५५६ हुन्छ, त्यस हिसाबले दिनको २१ हुन्छ भने त्यहाँ उनीहरूले दिनको १६ वा १८ पाउँछन्। त्यहाँ गएर ओटी नआउने, कति स्थानमा लेवी अझै पनि काटिरहेको छ। हामीले ती कुरा बुझेर फाराम भराएर नेपाली दुतावासबाट त्यस स्थानमा फोन गराउने काम गराइरहेका छौं। धेरै नेपालीहरू जुन सपना बोकेर गएका छन्, सपना पूरा हुँदैन। महिनामा १५-२० हजार कमाउने सपना लिएर जान्छन्, त्यो पूरा भएको छैन। नेपाली मात्र होइन, अरू विदेशीहरूका लागि पनि मलेसिया राम्रो सुरक्षा छैन। त्यहाँ तामिल (स्थानीय वासिन्दा) र इन्डोनेसियालीहरूले लुट्ने गर्छन्। हातहतियार बोकेर हिँड्ने गर्छन्। कति नेपालीहरूले आफ्नो ज्यान पनि गुमाइरहेका छन्। हाम्रो सर्वेक्षणअनुसार प्रत्येक महिना १५-२० जना नेपालीहरूको मृत्यु भइरहेको छ (सन् २००५-२००७ सम्मको सर्वेक्षण)। हत्या गरिएका पनि छन्, दुर्घटनामा परेका साथै हामी नेपालीहरूले कति कुराहरूमा ध्यान नराख्नाले पनि ज्यान गुमाएका छन्। नेपालीको बानी नेपालमा जसरी बस्छौं, त्यसरी नै त्यहाँ बस्ने कोसिस गर्छौं। त्यहाँको वातावरणसँग कसरी मिल्ने भनेर जान्नु पनि जरुरी छ। नेपालीको बानीअनुसार गर्मी भएपछि नुहाउनुपर्छ, कामबाट थाकेर आएको हुनाले तातो खाना तातै खानुपर्छ। त्यसपछि गर्मी हुन्छ अनि फ्यान चलाउने, एसी चलाउने गर्छन्। फ्यान र एसी आफूतिर फर्काएर सुत्ने गर्छन्। चिसो भएर रगत जमेर पनि कति मरेका छन्। अर्कोकुरा, नेपालीहरूको पिउने बानी छ। त्यहाँको कडा रक्सीको कारणले पनि मृत्यु भइरहेको छ। कतिले आत्महत्या पनि गरिरहेका छन्।
आत्महत्या गर्नुको कारण?
उनीहरूले यहाँबाट ऋण लिएर त्यहाँ गएका हुन्छन्। कसैले घर, कसैले जग्गा राखेका हुन्छन्। त्योअनुसार कमाउन सक्दैनन्। कति नेपालीहरूले १५०-२०० सम्म पनि थापेको कुरा हामीलाई थाहा छ। ऋण तिर्न सकिएन, घर फर्किंदैछु, जग्गा हातबाट जाँदैछ, परिवारले के खाने? चिन्ता फिक्री गरेर आफ्नो मनलाई सानो पारेर केही उपाय नदेखेपछि उनीहरूले आत्महत्या गर्छन्। कति जना आफ्नो पैसा साथमा लिएर हिँडेको कारणले पनि मरिरहेका छन्। उनीहरूलाई लुट्नेहरूले ज्यान पनि लिने गर्छन्। थोरै नेपालीहरूले इन्डोनेसियाली महिलाहरूलाई भेटेका हुन्छन्। उनीहरूले तिनीहरूसँगको हेलमेलमा पैसा उडाइरहेका छन्। ती कुरा इन्डोनेसियाली केटाहरूले थाहा पाएमा तिनीहरूले सिधै आएर मारिदिन्छन्।
मलेसिया जान चाहनेलाई के भन्नुहुन्छ?
सबैभन्दा पहिले कम्पनी कहाँ छ? पठाएको कलिङ भिसा हुन्छ, त्यो सक्कली हो वा नक्कली हो। त्यो सम्पर्कअनुसार हो वा सिधै कम्पनीमा छ, त्यो बुझ्नु आवश्यक छ। कन्ट्रयाक्ट र कम्पनीमा पनि फरक छ। कन्ट्राक्टमा कम्पनीले दिएका सबै सुविधाहरू काटेर आधारभूत तलब मात्र दिने हुन्छ। कम्पनीमा हुनेहरूलाई धेरै सुविधाहरू छन्। कामबाट आएको तलबभन्दा पनि सुविधाबाट आएको पैसाले गर्दा २०००-२५०० सम्म हुन्छ। विभिन्न छुट, बोनसहरू, राम्रो काम गर्नेको महिनैपिच्छे तलब बढ्ने आदि हुन्छ। एजेन्टमार्फत जानेहरूलाई पनि ती कुराहरू दिइएको हुन्छ तर एजेन्टले खाइदिन्छ। त्यसकारण मानिसहरूले कमाउन सक्दैनन्।
साधारण मानिसले यो कुरा कसरी थाहा पाउने त?
तपाईं काम गर्न जान चाहनुहुन्छ भने तपाईंले कलिङ भिसा मागेर त्यसलाई दुतावासमा फ्याक्स गरेर पनि थाहा पाउन सक्नुहुन्छ भने मलेसियामा नेपालीहरूका लागि धेरै संस्थाहरू खुलेका छन्, त्यहाँबाट पनि थाहा पाउन सकिन्छ कि कन्ट्राक्ट हो वा कम्पनीको कलिङ हो भनेर। उनीहरूले विस्तृत रूपमा खोज्ने काम पनि गर्छन्।
पत्रिकामार्फत नेपाल र नेपालबाहिर भएका मण्डलीहरूलाई के भन्न चाहनुहुन्छ?
विदेशमा भएका सम्पूर्ण मण्डली र साथीहरू, विदेशमा भएका नेपाली साथीहरू सबैले आफूलाई एक्लो महसुस गरिरहेका हुन्छन्। हामीले प्रभुलाई चिनेको कारणले हाम्रो कर्तव्य यही नै हो कि हामीले आत्मिक र शारीरिक दुवै कुरालाई हेर्नु आवश्यक छ। हामीले नेपाली दाजुभाइलाई कसरी आत्मिक क्षेत्रमा बढाउने र सुसमाचार पुर्याउने पहिलो कुरा हो। उनीहरू कस्तो जन्जालमा परिरहेका छन्, हामीले उनीहरूलाई कसरी सहायता पुर्याउन सक्छौं भन्ने भूमिका हामीले खेल्छौं भने हाम्रा नेपाली दाजुभाइले प्रभुलाई चिन्ने मौका पाउनेछन्। नेपालका मण्डलीलाई म के भन्न चाहन्छु भने विदेशमा काम गर्न आउने विश्वासीहरूलाई कम्तीमा पनि छोटो तालिम गराएर पठाएमा उनीहरूले विदेशमा पनि प्रभुको काम गर्न पाउनेछन्।
आशिष् पत्रिका पाठकको चाहनाअनुसार संसारको जुनसुकै ठाउँबाट पनि पढ्न पाउने व्यवस्था मिलाउन निरन्तर प्रार्थना र प्रयास गर्दै जादाँ हामीलाई एक वर्ष लाग्यो। फलस्वरूप गत ख्रीष्टमसको अवसर पारेर हामी वेवसाइटमा पनि आएका छौं। तपाईंहरूको सल्लाह र सहयोग निरन्तर रहिरहने अपेक्षाका साथ हाम्रो वेव संस्करण हेर्नुहुने शेरुसिंह ठकुरीसँग सम्पादन सहयोगी राजकुमार भण्डारीले गर्नुभएको सङ्क्षिप्त कुराकानी -
हाम्रो आशिष् डट कममा केके छन् त?
यो वेबसाइटमा स्थान वर्गीकरण गरिएर शीर्षलेख, समाचार, कविता, सम्पादकीय, गतिविधि छन् र अन्य रोचक गतिविधिहरू हामीले आगामी दिनमा थप्ने योजना गरेका छौं। निश्चित लेखसँग जोडिएका सम्बन्धित लेखहरू पाउँछौं।
यो वेबसाइटले कस्ता व्यक्तिहरूलाई समेट्ने कोसिस गरेको छ?
यो वेबसाइटले सम्पूर्ण सबैलाई समेट्ने कोसिस गरेको छ। बालक, वृद्ध, अगुवा, पास्टर, साधारण विश्वासी, प्रचारक, विज्ञापनदाता सबैको लागि यो आशिषित बनेको छ।
वेबसाइटका काम गर्दाको अनुभव?
सुरुमा यो काम गर्न सम्झौता भयो। सुरुको समय अलिक गाह्रो थियो। हामीले अगस्ट, २०१० सम्ममा दिनुपर्ने थियो तर त्यो समयमा हामीले दिन सकेनौं। अहिले तीन महिनापछि डिसेम्बरमा एउटा चरण हामीले सिद्धाएर अनलाइनमा आएका छौं। यो समयमा आउन नसक्नुका कारण विविध छन्, यसको लागि ग्रोलिङ्क क्षमा चाहन्छ।
वेबसाइटका भावी योजनाहरू?
हामीले अहिले बनाएको वेब सिस्टमलाई अझै पनि परिमार्जित र परिस्कृत गर्दै लैजानेछौं। हामी यो सिस्टमलाई अझै राम्रो र प्रतिस्पर्धी बनाउने चाहना छ। हामीले यो वेबसाइटमा ख्रीष्टियान yellow page राख्ने पनि योजना छ, जुन हामी चाँडै अनलाइन गर्नेछौं। नेपाली ख्रीष्टियान समुदायमा भएका मण्डली, ख्रीष्टियान संघसंस्था, व्यापारिक संस्था, नेपाली ख्रीष्टियान व्यक्तिहरू पनि यसमा अटाउन सक्नुहुन्छ, जुन सूचना विश्वको जुनै कुनाबाट पनि हेर्न सक्नुहुन्छ।
वेबसाइटको भविष्य कस्तो देख्नुहुन्छ?
यसको भविष्य एकदमै उज्जव छ। हामी कोही पनि इन्टरनेटबाट अछुतो छैनौं। यो वेबसाइटको एउटा चरण मात्र पूरा भएको छ। अब हामी यसलाई परमेश्वरको महिमा र उहाँको राज्यको वृद्धिको लागि बढाउँदै लैजानेछौं। धेरै मानिसहरूसम्म पुग्ने एउटा माध्यम परमेश्वरले हामीलाई यसको रूपमा दिनुभएको छ। भोलिका दिनहरूमा प्रभुले हामीलाई ज्ञान, बुद्धि दिनुभयो भने अझै राम्रा, सृजनात्मक कुराहरू राख्दै जानेछौं। तपाईंहरूसँग पनि केही विचारहरू र सुझाव छ भने हामीलाई दिन सक्नुहुन्छ। हामी सबै हाम्रो आशिष्को वेबसाइटबाट आशिषित हुनुपरेको छ।
यो वेबसाइटले परमेश्वरको महिमा गर्न र उहाँको राज्यको बिस्तार कसरी काम गर्न सक्ला?
यसले विभिन्न रूपमा परमेश्वरको राज्यको बिस्तारको लागि काम गर्छ। परमेश्वरको वचनबाट प्रेरणा पाएर लेखिएका लेख, कविता, गवाहीहरू हाम्रो लागि आत्मिक खँदिला खुराक हुन्। जब विश्वका विभिन्न कुनामा भएका विश्वासीहरू र अविश्वासीहरूले हेर्नुहुन्छ, त्यो उनीहरूको आत्मिक जीवनको लागि खुराक बन्छ, मन्न बन्छ। यसले उनीहरूको व्यक्तिगत जीवनमा आशिष् त लिएर नै आउँछ, उहाँको परिवार, उनीहरूको समुदाय, स्थान र देशमा सम्पूर्ण कुरामा नै आशिष् आउँछ। यसप्रकारले यो वेबसाइटले परमेश्वरको महिमा पनि गर्नेछ।
ग्रोलिङ्क के हो?
यो एउटा नाफामा आधारित कम्पनी हो। यो कम्पनीको दर्ता केही समयअघि भए पनि विगत २ वर्षदेखि यो कम्पनीले नदेखिने रूपमा काम गर्दै आइरहेको थियो। हामीले वेबसाइट डिजाइनिङ, वेबसाइटको विकास, इ-कमर्शको साइटहरू अर्थात किनबेच गर्ने साइटहरू बनाउने, सानो आवश्यकताअनुसारका सफ्टवेयरहरू बनाउने, वेबहोस्टिङ, डोमेन नेम रजिस्ट्रेशन, वेबसम्बन्धी सक्दो सहायता, नेपाली बजारमा ख्रीष्टियान इमेल सर्वर बनाउने काम गरिरहेका छौं।
अन्तमा केही कुरा छ कि?
आशिष्को यो सिस्टमलाई कायम राख्न हामीले हाम्रो समय र लगानी दिएका छौं। हामीलाई माया गर्नुहोस्, हामीलाई विज्ञापनहरू पनि दिनुहोस्। हामीलाई तपाईंको सुझावहरू, टिकाटिप्पणीहरू पनि दिन सक्नुहुन्छ। त्यसको लागि तपाईंले info@hamroashish.com मा पठाउन सक्नुहुन्छ। साथै तपाईंले विज्ञापन ads@hamroashish.com वा ashishpatrika7@gmail.com मा दिन सक्नुहुन्छ। ती सबै हामी मूल्यवान कुरा ठानेर लिनेछौं। हामीलाई सच्याउने काम पनि गर्नुहोला। धन्यवाद।